विश्वकप लिग-२ : स्कटल्याण्डको लगातार तेश्रो जित, बेरिंगटनको आक्रामक इनिंग

स्कटल्याण्डमा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टिम स्कटल्याण्डले लगातार तेश्रो जित हात पारेको छ।

पहिलो खेलमा ओमानसंग पराजित भएको स्कटल्याण्डले त्यसपछि पपुवा न्युगिनीलाई २ पटक र ओमानलाई १ पटक पराजित गर्यो। ४ खेल खेल्दा स्कटल्याण्डको ३ जित र १ हार सहित ६ अंक रहेको छ। पपुवा न्यु गिनीले भने खेलेको सबै ३ खेलमा हार बेहोरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत अब भोलि अन्तिम खेलमा ओमान र पपुवा न्यु गिनीले प्रतिस्पर्धा गर्नेछन्।

एबरडीनमा सम्पन्न खेलमा स्कटल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो।

पपुवा न्यु गिनीलाई लक्ष्यसम्म पुग्न नदिन स्कटल्याण्डले उत्कृस्ट बलिंग गर्यो। मार्क वाटले २ विकेट लिंदा सफ्यान सरिफ, मिचेल लिस्क, टिबि सोल, हम्जा ताहिर र क्यालुम म्याकलोयडले समान १/१ विकेट लिए।

पपुवा न्यु गिनीको लागि कप्तान असद भालाले सर्वाधिक ४८, डामिएन रभुले ३८ तथा लेगा सियाकाले ३३ रन बनाए।

स्कटल्याण्डको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा स्कटल्याण्डको लागि रिची बेरिंगटनले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच चुनिएका उनले ६४ बलमा १ चौका र ६ छक्का प्रहार गरे। यस्तै कप्तान कायल कोट्जरले ६२ ( ९१ बलमा ७ चौका र २ छक्का ) बनाए। जर्ज मुनसेले ३४ रन बनाए।

पपुवा न्युगिनीको बलिंगमा नोसिना पोकना र चाड सोपरले समान २/२ विकेट लिए।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुवरिमा घरेलु मैदानमा अमेरिका र ओमान बिरुद्ध खेल्ने तालिका रहेको छ।

( फोटो – स्कटल्याण्ड क्रिकेट )

२०७६ भाद्र ३, मंगलवार मा प्रकाशित