एभिसी सेन्ट्रल जोन: माल्दिभ्स बिरुद्द नेपाललाई जित्नैपर्ने दबाब

एसियन भलिबल च्याम्पियनसिप सेन्ट्रल जोन भलिबल प्रतियोगिता अन्तर्गत आज हुने माल्दिभ्स बिरुद्दको खेलमा नेपाललाई जित्नैपर्ने दबाब रहनेछ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। यस्तै माल्दिभ्सलाई पनि किर्गिस्ताले समान अन्तरले पराजित गर्दै समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। नेपाल र माल्दिभ्स अर्को चरणको यात्रालाई जारि राख्न जित्नैपर्ने दबाब सहित उत्रनेछन्।

नेपाल र माल्दिभ्स बिचको समूह चरणको अन्तिम खेल आज साँझ ५ बजेदेखि लगनखेलमा रहेको आर्मी कभर्ड हलमा सुरु हुनेछ।

अहिलेसम्म जितबिहिन रहेका टिमहरुमध्ये पराजित हुने टिमको यात्रा समूह चरणबाट सकिनेछ भने जित निकाल्ने टिम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश पाउनेछ। नेपालले पहिलो खेलमा बलियो किर्गिस्तानसँग हार व्यहोरेपनि प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो। प्रतियोगिता अघि तयारी स्वरूप अफगानिस्तानसँग खेलिएका दुई खेलमा नेपालले दुवै खेल जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।

प्रतियोगितामा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् । तुर्कमेनिस्तान २ पटकको विजता टिम हो। नेपाल समूह ‘ए’ मा रहेको छ जुन समुहमा नेपाललगायत कीर्गिस्तान र माल्दिभ्स रहेका छन्। समूह बी मा तुर्किमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्।

सेन्ट्रल जोन भलिबलको पहिलो र दोश्रो संस्करणमा नेपाल चौथो भएको थियो। यस्तै तेश्रो संस्करणमा नेपाल तेश्रो भएको थियो भने चौथो संस्करणमा चौथो भएको थियो। प्रतियोगिताको पहिलो र चौथो संस्करण तुर्कमेनिस्तानले जितेको थियो भने दोश्रो बंगलादेशले र तेश्रो किर्गिस्तानले जितेको थियो।

२०७६ भाद्र ४, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment