एसेज : आर्चरको घातक बलिंगको अगाडी अस्ट्रेलिया सस्तोमै समेटियो

करियरको दोश्रो टेस्ट खेल्ने क्रममा इंग्ल्याण्ड तिब्र गति बलर जोफ्रा आर्चरले घातक बलिंग गर्दा एसेज सिरिज अन्तर्गत तेश्रो टेस्टको पहिलो इनिंगमा अस्ट्रेलिया १७९ रनमै अलआउट भएको छ।

हेडिंगलेमा जारि टेस्टमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५२.१ ओभरमा सबै विकेट गुमाएको हो। वर्षाले प्रभावित हुँदा अस्ट्रेलियाको इनिंग पछि इंग्ल्याण्ड भोलि ब्याटिंग गर्न आउनेछ।

अस्ट्रेलियाको लागि मार्कस लाबुसेनले सर्वाधिक ७४ , डेभिड वार्नरले ६१ तथा कप्तान टिम पेनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर मार्कस ह्यारिस ८ रन तथा त्यसपछि उस्मान ख्वाजा पनि समान ८ रननै बनाएर आउट भएपछि तेश्रो विकेटकको लागि वार्नर र लाबूसेनले १११ रनको साझेदारी गरेका थिए। वार्नरलाई आर्चरले क्याच आउट गराएपछि भने अस्ट्रेलियाको विकेट पतन सुरु हुन पुग्यो। १३६/३ को अवस्थाबाट थप ४३ रन जोड्दा अस्ट्रेलियाले सबै विकेट गुमाउन पुग्यो।

घातक बलिंग गर्ने क्रममा आर्चरले डेभिड वार्नर, मार्कस ह्यारिस, म्याथु वेड, जेम्स प्याटिन्सन, प्याट कमिन्स र नाथन लायनको गरि ६ विकेट लिए। करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा आर्चरले १७.१ ओभरमा ३ मेडन ओभर गर्दै ४५ रन खर्चिए। स्टुवार्ट ब्रोडले २ तथा क्रिस वोक्स र बेन स्टोक्सले १/१ विकेट लिए।


एसेज सिरिज अन्तर्गत दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो भने पहिलो टेस्टमा अस्ट्रेलिया २५१ रनले विजयी भएको थियो।

२०७६ भाद्र ६, शुक्रबार मा प्रकाशित