विन्डिज फास्ट बलिंग अघि भारतको संघर्ष, पहिलो दिन २०३/६ को अवस्थामा

भारतको वेस्टइन्डिज टुर अन्तर्गत २ टेस्टको सिरिज एन्टीगुवामा सुरु भएको छ। टेस्टको पहिलो दिनको खेल सकिंदा टस हारेर ब्याटिंग गरेको भारत २०३/६ को अवस्थामा रहेको छ। वर्षाका कारण ६८.५ ओभरको खेल मात्र सम्भव हुन सक्यो।

खराब सुरुवात गरेको भारतले ओपनर मायाँक अग्रवाल ( ५ रन ) , चेतेश्वर पुजारा ( २ रन ) र कप्तान बिराट कोहली ( ९ रन ) लाई छिट्टै गुमाउन पुग्यो। अग्रवाल र पुजारालाई केमर रोचले तथा कोहलीलाई शानोन ग्याब्रियलले क्याच आउट गरे।

२५/३ को अवस्थाबाट केएल राहुल र अजिंके रहानेले चौथो विकेटको लागि ६८ रनको साझेदारी गरे। राहुल ४४ रन बनाएर रोस्टन चेजबाट क्याच आउट भए। त्यसपछि रहानेले पाँचौ विकेटको लागि हनुमा बिहारीसंग ८२ रनको साझेदारी गरे। बिहारीलाई रोचले ३२ रनमा क्याच आउट गरे। लगत्तै रहानेलाई ग्याब्रियलले बोल्ड गरे। ८१ रन बनाउने क्रममा रहानेले १६३ बलमा १० चौका प्रहार गरे।

दिनको खेल समाप्तिमा रिशभ पन्त २० र रभिन्द्र जडेजा ३ रन बनाएर अविजित रहेका छन्।

विन्डीजको बलिंगमा केमर रोचले सर्वाधिक ३ ( १७-६-३४-३ ) , शानोन ग्याब्रीयलले २ ( १५-३-४९-२ ) र रोस्टन चेजले १ विकेट लिएका छन्।

टुर अन्तर्गत भारतले टि-२० सिरिज ३-० ले तथा एकदिवसीयको सिरिज २-० ले जितेको थियो।

खेलमा भारतले स्पिनर रभीचन्द्रन आश्विन र रोहित शर्मालाई अन्तिम-११ मा स्थान दिएन।

खेलको फोटोहरु – 

२०७६ भाद्र ६, शुक्रबार मा प्रकाशित