यु-१९ टिमको टेस्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्य

एसियन क्रिकेट काउन्सील (एसीसी) को आयोजनामा सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुन लागेको अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ। १५ जना खेलाडी र ४ जना अफिसियल सहितको टिम त्यसतर्फ लागेको हो।

गौशालास्थित रामेश्वरम होटलमा आयोजित एक बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, क्यानको पुर्व-सीईओ तथा हाल एसीसीसँग नेपालको समन्वयकर्ता भावना घिमिरे र पुर्व राष्ट्रिय प्रशिक्षक जगत टमाटाले खेलाडीहरुलाई बिदाई गर्दै सफलताको शुभकामना दिए।

बिदाई कार्यक्रममा यसअघि सिनियर टिमबाट समेत खेलिसकेका तथा यस यु१९ टिमको कप्तान समेत रहेका रोहित पौडेलले टिम १० दिन अगाडी नै श्रीलंका जान लागेकोले त्यहाँको बातावरण बुझ्न मद्दत गर्ने बताए। उनले भने, “हामि १० दिन अगाडी श्रीलंका जाँदैछौं, त्यहाँ  अभ्यास खेल समेत खेल्नेछौं र नेपालमा पनि पाएको समयमा राम्रो अभ्यास गरेका छौं। यसले अरु टिमहरुलाई पक्कै पनि गाह्रो हुनेवाला छ।”

कप्तान रोहित पौडेल होटलबाट एयरपोर्ट प्रस्थान गर्दै (फोटो: सुमन राज कार्की)

यस्तै नेपाली टिमका पुर्व कप्तान तथा बर्तमान यु१९ टिमका प्रशिक्षक बिनोद दासले पनि कप्तान रोहितको भनाईलाई नै जोड दिए। उनले भने, “हामीले एसीसीसँग धेरै समय मागेका थियौं तर मात्र १२ दिनको समय पायौं।” उनले थपे, “पाएको १२ दिनमा हामीले एक महिनाको तयारीलाई पुरा गर्ने प्रयास गर्यौं।”

“त्यस्तै खेलाडीहरुले पनि १२ दिनमा धेरै नै पसिना बगाएकोले तयारी राम्रै भएको तर त्यसको निर्णय भने टिमले गर्ने प्रदर्शन र त्यसबाट आउने नतिजाले तय गर्ने छ।”

बिदाई कार्यक्रममा उपस्थित राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटाले यु१९ टिम सिनियर टिममा पर्नको लागि प्ल्याटफर्म रहेको बताए। उनले खेलाडीहरुलाई यु१९ टिमको इतिहास बताउंदै त्यस्तै प्रदर्शन दोहोर्याउनको लागि प्रेरित समेत गरे। उनले भने, “आफु माथि बिश्वास राख्नुपर्छ, यसअघि हामीले ठुला राष्ट्रहरुलाई पराजित गरिसकेका छौं।”

“टेस्ट राष्ट्र भनेर डराउनुपर्ने भन्ने हुदैन, हामिले केहि अगाडी मात्रै बंगलादेशको यु१९ टिमलाई समेत पराजित गरेका थियौँ।” उनले थपे।

प्रतियोगिता सुरु हुनु १० दिन अघि श्रीलंका पुग्ने नेपाली टिमले श्रीलंकामा अभ्यास खेल खेल्नेछ। अभ्यास खेल खेल्न टिम हालसम्म तय भएको छैन। सकभर टेस्ट रास्ट्रसंग कम्तिमा एउटा अभ्यास खेल खेल्ने प्रस्ताब नेपाली टिमले गरेको छ। कोसंग खेल्ने भने अझसम्म तय भएको छैन।

भारतीय ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाईले श्रीलंकामा नेपाली टिमलाई सघाउनेछन्

श्रीलंकामा नेपाली टिमलाई अभ्यासमा भारतीय ब्याटिंग प्रशिक्षक अपुर्भ देसाईले सघाउनेछन्। यस अघि पनि नेपाली यु-१९ टिम र सिनियर टिमको ब्याटिंग कन्सल्टेन्ट रहीसकेका देसाईले श्रीलंकामा नेपाली टिमलाई भेट्नेछन् र प्रतियोगिता अवधिभर टिमसंग रहनेछन्।

प्रतियोगिताको लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ। टिममा यस अघि एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा नरहेका आसिफ शेख, सन्दिप जोरा, सुर्य तामांगले कमब्याक गरेका छन्।

टिममा ब्याटिंगमा रोहित पौडेल, रित गौतम, हरि बहादुर चौहान, कुशल मल्ल, सन्दिप जोरा, भिम शार्की, खडक बोहरा, लोकेस बम जस्ता ब्याट्सम्यान रहेका छन्। यस्तै बलिंगतर्फ प्रतिस जिसी, सुर्य तामांग, सागर ढकाल, रासिद खान, कमल सिंह ऐरी रहेका छन्। पवन सर्राफ र कुशल मल्ल अल-राउण्डरको रुपमा टिममा रहेका छन्। जुलाईमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा टिममा रहेका लेग स्पिनर तिलक भण्डारी, बिशाल बिक्रम केसी यो पटक टिममा छैनन्।

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान )  , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी 

१५ सदस्यीय टिमसंगै यो पटक ५ जना सपोर्ट स्टाफ समेत श्रीलंकामा रहनेछन्। टिम प्रशिक्षकमा बिनोद दास रहेका छन् भने ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाई रहेका छन्। यस्तै नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्का व्यवस्थापकको रुपमा रहनेछन् भने फिजियो बिक्रम न्यौपाने र फिटनेस ट्रेनर सुबास पात्रो रहनेछन्।

नेपालको खेल तालिका 

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

नेपाल जुलाईमा मलेसियामा आयोजित एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको विजेता हुँदै यु-१९ एसिया कप खेल्न छनौट भएको थियो। नेपालले फाइनलमा हंगकंगलाई पराजित गरेको थियो।

२०७६ भाद्र ७, शनिबार मा प्रकाशित