इंग्ल्याण्डको इतिहासकै उत्कृस्ट जितमा स्टोक्सको चमत्कारिक इनिंग

बेन स्टोक्सले टेस्ट क्रिकेट इतिहासकै उत्कृस्ट मध्येको इनिंग खेल्दा एसेज सिरिज अन्तर्गत तेश्रो टेस्टमा इंग्ल्याण्डले अस्ट्रेलियालाई १ विकेटले पराजित गरेको छ। २ टेस्ट बाँकी रहंदा सिरिज १-१ को बराबरीमा पुगेको छ। पहिलो टेस्ट अस्ट्रेलियाले जित्दा दोश्रो बराबरी भएको थियो।

टेस्टको पहिलो इनिंगमा टस हारेर ब्याटिंग गर्दै १७९ रन बनाएको थियो। त्यसपछि इंग्ल्याण्डले पहिलो इनिंगमा ६७ रनमा सबै विकेट गुमाउन पुगेको थियो। पहिलो इनिंगमा ११२ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंगमा २४६ रन बनाएपछि इंग्ल्याण्डलाई जित्न ३५९ रनको लक्ष्य पाएको थियो।

लक्ष्य पछ्याउने क्रममा नवौं विकेट गुमीसकेको अवस्थामा इंग्ल्याण्डलाई जितको लागि अझै ७३ रनको आवस्यकता रहेको थियो। जित असम्भव देखिएको अवस्थामा बेन स्टोक्स र ज्याक लिचले दशौँ विकेटको लागि अविजित साझेदारी गर्दै टिमलाई अचम्मित पार्ने जित दिलाए।


इंग्ल्याण्ड जितबात २ रन टाढा हुँदा स्टोक्सलाई नाथन लायनले एलबिडब्लु धरापमा पारेका त थिए तर अम्पायरले आउट दिएका थिएनन्। अस्ट्रेलियासंग रिभ्यु पनि बाँकी रहेको थिएन। रिप्लेमा हेर्दा उनि आउट भएका थिए। प्याट कमिंसले गरेको लेग स्टम्प भन्दा बाहिर ठोकिएको बलमा रिभ्यु लिनु हारको कारण हुन पुग्यो। यदी त्यो बलमा रिभ्यु नलिएको भए स्टोक्स आउट हुने थिए। ठिक त्यही बल अघि नाथन लायनले सजिलो रन आउट पनि बल समात्न नसक्दा छोड्दा जित्ने अवसर गुमाएको थियो।

स्टोक्सले ९ विकेट गुमेपछि आक्रामक ब्याटिंग थालेका थिए भने लिचलाई कम भन्दा कम स्ट्राइक दिंदै लक्ष्यतर्फ अघि बढेका थिए। अविजित १३५ रन बनाएका स्टोक्सले २१९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे। लिचले भने १७ बलमा १ रन बनाए। लिचले १७ औं बलमानै खाता खोलेका थिए।

इंग्ल्याण्डको नयाँ रेकर्ड 

इंग्ल्याण्डले टेस्ट क्रिकेटमा पछ्याएको योनै सबैभन्दा ठुलो योगफल हो। यस अघि इंग्ल्याण्डले अस्ट्रेलिया बिरुद्ध सन् १९२८/२९ मा ३३२ रनको लक्ष्य पछ्याएको थियो। अस्ट्रेलिया बिरुद्ध सन् २००१ मा ३१५ रनको तथा न्युजिल्याण्ड बिरुद्ध १९९६/९७ मा ३०५ रनको लक्ष्य इंग्ल्याण्डले पछ्याएको थियो।

यसै वर्ष दक्षिण अफ्रीका बिरुद्ध श्रीलंकाले आजको जस्तै अद्भुत जित हाँसिल गरेको थियो। त्यस क्रममा कुशल परेरा र विश्व फर्नान्डोले दशौँ विकेटको लागि ७८ रनको साझेदारी गरेका थिए। स्टोक्स र लिचको ७६ रनको साझेदारी दोश्रो सर्वाधिक दशौँ विकेटको साझेदारी हो।

इंग्ल्याण्डले १ विकेटको जित हाँसिल गरेको यो चौथो पटक हो। यस अघि १९०२ र १९०७ मा अस्ट्रेलिया बिरुद्ध तथा १९२२/२३ मा दक्षिण अफ्रीका बिरुद्ध १ विकेटको जित हाँसिल गरेको थियो।

इंग्ल्याण्डको दोश्रो इनिंगमा कप्तान जो रुटले ७७ तथा जो डेनलिले ५० रन बनाएका थिए। दुवैले तेश्रो विकेटको लागि १२६ रनको साझेदारी गरेका थिए। पाँचौ नम्बरमा ब्याटिंग गरेका स्टोक्सले पाँचौ विकेटको लागि जोनी बेयरस्टोसंग ८६ रनको साझेदारी गरेका थिए।

टेस्ट समरी :- 

अस्ट्रेलिया पहिलो इनिंग – १७९ ( लाबुसेन ७४, वार्नर ६१ , आर्चर ६ विकेट )
इंग्ल्याण्ड पहिलो इनिंग – ६७ ( हेजलवुड ५/३० )
अस्ट्रेलिया दोश्रो इनिंग – २४६ ( लाबुसेन ८०, स्टोक्स ३/५६ )
इंग्ल्याण्ड दोश्रो इनिंग – ३६२/९ ( स्टोक्स १३५* , रुट ७७ , हेजलवुड ४/८५ )

२०७६ भाद्र ८, आईतवार मा प्रकाशित