बुम्राहले घातक बलिङ्ग गर्दा भारतको कीर्तिमानी जित

जस्प्रित बुम्राहले ७ रन मात्र खर्चेर ५ विकेट लिएपछि भारतले वेस्ट इन्डिज बिरुद्ध पहिलो टेस्टमा ठुलो जित दर्ता गर्दै २ टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ। दोश्रो तथा अन्तिम टेस्ट अगस्ट ३० देखि सुरु हुनेछ।

भारतले दिएको ४१९ रनको लक्ष्य पछ्याउन ब्याटिंग गरेको वेस्टइन्डिजले मात्र २६.५ ओभरमा १०० रनमै सबै विकेट गुमाउन पुग्यो।

टेस्ट क्रिकेटमा वेस्टइन्डिजले भारत बिरुद्ध बनाएको योनै सबै भन्दा कम योगफल हो। यस अघि २००६ मा वेस्टइन्डिजले १०३ रन बनाएको थियो।

बुम्राहले ५ विकेट लिन ८ ओभरमा ३ मेडन ओभर सहित ७ रन मात्र खर्चिए। यस्तै इशान्त शर्माले ३ तथा मोहम्मद शामीले २ विकेट लिए। बुम्राहले सबै ५ विकेट आउटस्विंग बलिङ्ग बाट लिएका थिए ( दायाँ हातेको लागि आउटस्विंग , बायाँ हातेको लागि इन-स्विंग ) जसको लागि बुम्राह बलियो मानिने गर्दैनन्।

बुम्राहले ५ विकेट लिन खर्चेको ७ रन अहिलेसम्मकै सबैभन्दा कम रन हो। यस्तै उनि दक्षिण अफ्रीका, इंग्ल्याण्ड, वेस्टइन्डिज र अस्ट्रेलिया ४ वटै देशमा ५ विकेट या बढी विकेट लिने पहिलो एसियन क्रिकेटर बनेका छन्। टेस्टमा बुम्राहले ५ विकेट लिएको यो चौथो अवसर हो।

एक समय ५० रनमै ९ विकेट गुमाईसकेको विन्डीजको लागि केमर रोच र मिगुएल कमिन्सले दशौँ विकेटको लागि ५० रनको साझेदारी गरे। रोचले ३८ रन तथा कमिन्सले अविजित १९ रन बनाए।

यस अघि भारतले आफ्नो दोश्रो इनिंग ३४३/७ मा समाप्तिको घोषणा गरेको थियो। अजिंके रहानेले सर्वाधिक १०२ रन तथा हनुमा बिहारीले ९३ रन बनाए। कप्तान कोहली ५१ रन बनाएर आउट भए। विन्डीज बलर रोस्टन चेजले ४ विकेट लिए।

रहानेले २ वर्षको प्रतीक्षा पछि शतक बनाए

टेस्टमा भारतले टस हारेर पहिले ब्याटिंग गर्दै पहिलो इनिंगमा २९७ रन बनाएको थियो। वेस्टइन्डिजले पहिलो इनिंगमा २२२ रन बनाएपछि भारतले ७५ रनको अग्रता लिएको थियो।

खेलको प्लेयर अफ द म्याच अजिंके रहाने चुनिए।

टेस्टको समरी 

भारतको पहिलो इनिंग – २९७ ( रहाने ८१, जडेजा ५८ , रोच ४/६६ )
वेस्टइन्डिजको पहिलो इनिंग – २२२ ( चेज ४८, इशान्त – ५/४३ )
भारत दोश्रो इनिंग – ३४३/७ इनिंग घोषणा ( रहाने १०२ , बिहारी ९३ , चेज ४/१३२ )
वेस्टइन्डिज दोश्रो इनिंग – १०० ( रोच ३८ , बुम्राह ५/७ )

कोहलीको रेकर्ड 

जितसंगै बिराट कोहली विदेशमा सबैभन्दा धेरै टेस्ट जित्ने कप्तान बनेका छन्। कोहलीले गांगुलीको ११ जितलाई उछिन्दै १२ औं जित दर्ता गरेका हुन्। कोहलीले कुल २६ टेस्टमा तथा गांगुलीले २८ टेस्टमा विदेशमा कप्तानी गरेका थिए। महेन्द्रसिंह धोनीले ३० टेस्टमा मात्र ६ जित मात्र निकाल्न सकेका थिए।

यस्तै कोहलीले भारतको लागि कप्तानको रुपमा सबैभन्दा धेरै टेस्ट जित्ने रेकर्डको बराबरी गरेका छन्। धोनी र कोहलीको समान २७ जित रहेको छ। कोहलीले मात्र ४७ टेस्टमा यो किर्तिमान बनाएका हुन् भने धोनीले ६० टेस्टमा कप्तानी गरेका थिए। सौरभ गांगुलीले २१ तथा मोहम्मद अजरुद्दीनले १४ टेस्ट जित हाँसिल गरेका थिए।

ठुलो रन अन्तरको जित 

विदेशी भुमिमा भारतले जितेको यो सबैभन्दा धेरै रन अन्तरको जित हो। यस अघि २०१७ मा श्रीलंकालाई भारतले ३०४ रनले पराजित गरेको थियो। यस्तै भारतको यो इतिहासकै चौथो ठुलो रन अन्तरको जित समेत हो।

Biggest winning margin for India (by runs)
337 v SA Delhi 2015/16
321 v NZ Indore 2016/17
320 v Aus Mohali 2008/09
318 v WI North Sound 2019 *
304 v SL Galle 2017

( रेकर्ड श्रोत – क्रिकवज र क्रिकइन्फो )

२०७६ भाद्र ९, सोमबार मा प्रकाशित