मलेसियन लिग च्याम्पियन जोहरसंग नेपाल पराजित

फुटबल विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनौट प्रतियोगिताको तयारीस्वरूप मलेसियन लिग फुटबल च्याम्पियन जोहर दारुल ताजिम एफसी संग मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टिम १-० ले पराजित भएको छ।

कमजोर प्रदर्शन गर्ने क्रममा नेपालले खेलको दोश्रो मिनेटमै गोल खाएको थियो। फ्रीकिक मार्फत अर्जेन्टिनी खेलाडी निकोलस अल्बर्टो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए जसलाई खेल अवधिभर नेपालले बराबरी गर्न सकेन। सुमन अर्यालले फल गर्दा जोहरले फ्रीकिक पाएको थियो।

दोश्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै गोलको प्रयास गरेता पनि प्रयास असफल हुन पुग्यो। ७३ औं मिनेटमा बिशाल राइले अफ साइडमा गोल गरेका थिए।

जोहर दारुल मलेसियाको उत्कृस्ट क्लब हो जसले २०१४ देखि २०१९ सम्म लगातार ६ पटक मलेसियन लिग जितिरहेको छ।

विश्वकप छनौट प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जहाँ अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताईपेई रहेको छ। छनौट अन्तर्गत नेपालले कुवेत बिरुद्ध भदौ १९ गते तथा चाइनिज ताईपेई बिरुद्ध भदौ २४ गते खेल्नेछ। त्यसपछि नेपालको खेल अस्ट्रेलियासंग असोज २३ गते र जोर्डन बिरुद्ध असोज २८ गते रहेको छ।

२०७६ भाद्र ९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment