अमित श्रेष्ठ र किशोर महतोलाई सिंगापुर राष्ट्रिय टिम बिरुद्ध खेल्ने मौका, आज सिंगापुर जाने

अमित श्रेष्ठ र किशोर महतोले सिंगापुर राष्ट्रिय क्रिकेट टिम बिरुद्ध क्रिकेट खेल्ने अवसर पाएका छन्। अमित र किशोर दुवैले नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका छन्।

नेपाली रास्ट्रिय टिमको तर्फबाट आज जारि गरिएको बिज्ञप्ति अनुसार दायाँ हाते ब्याट्सम्यान अमित र दायाँ हाते तिब्र गति बलर किशोर महतो आज ( २९ अगस्ट ) राति सिंगापुर प्रस्थान गर्नेछन्। उनीहरु बिहिबार राति ११:३० बजे मलेसिया एअरलाइन्सबाट सिंगापुरतर्फ प्रस्थान गर्ने बताईएको छ।

बिज्ञप्तिका अनुसार अमित र किशोरले नेपाल, मलेसिया र सिंगापुर मिश्रित टिमबाट सिंगापुर राष्ट्रिय क्रिकेट टिम बिरुद्ध खेल्नेछन्। ११ दिन सिंगापुर बसाइ पछि ९ सेप्टेम्बरमा दुवैजना नेपाल फर्किने तालिका रहेको छ।

सिंगापुर गत महिना नेपाललाई पछि पार्दै टि-२० विश्वकप छनौट खेल्न छनौट भएको छ। छनौट प्रतियोगिता युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म युएईमा आयोजना हुँदैछ। त्यसैको तयारीको लागि सिंगापुरले नेपाल र मलेसियाबाट खेलाडीहरु बोलाएर अभ्यास गर्न लागेको हो।

Ameet Shrestha

अमित श्रेष्ठ लगातार नेपाली घरेलु टिममा राम्रो प्रदर्शन गर्दै आएका छन्। त्यसका बाबजुद राष्ट्रिय टिममा स्थान बनाउन भने सकेका छैनन्। किशोर महतोले पनि नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमको लागि गत वर्षसम्म प्रातिनिधित्व गरेका थिए र तिब्र गति बलिङ्गमा सम्भावना बोकेका बलर हुन्।

यसै वर्ष जुनमा भएको प्रधानमन्त्रीकप प्रतियोगितामा नेपाल पुलिस क्लबको लागि खेल्दै अमित श्रेष्ठले १ शतक र १ अर्धशतक बनाएका थिए। यस्तै किशोरले सोहि प्रतियोगितामा गण्डकी प्रदेशको लागि खेल्दै ४ खेलमा ८ विकेट लिएका थिए।

राष्ट्रिय टिमबाट खेल्ने अवसर नपाए पनि अमितले सिंगापुर रास्ट्रिय टिम बिरुद्ध खेल्ने अवसर पाएका छन् जहाँ उनले आफुलाई प्रमाणित गर्न सके राष्ट्रिय टिमको ढोका खोल्न सक्छन्।

Kishor Mahato

ओपनिङ्ग ब्याटिंग गर्ने अमितले पहिलो पटक सन् २०१३ को एसीसी यु-१९ इलाइट कपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए। डेब्यु खेलमै अमितले कुवेत बिरुद्ध ४६ रन बनाएका थिए।

किशोर महतोले २०१७ यु-१९ विश्वकपमा पहिलो पटक नेपाली यु-१९ टिममा स्थान बनाएका थिए। सोहि वर्ष यु-१९ एसिया कपमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनल प्रवेश गर्दा उनि पनि टिममा थिए।

किशोर र अमित दुवै दक्षिण एसियाली खेलकुदको लागि घोषित ३५ सदस्यीय प्रारम्भिक टिममा रहेका छन्। आइतबार देखि राष्ट्रिय टिमले बन्दसत्र थाल्दैछ।

दक्षिण एसियाली खेलकुदको लागि प्रारम्भिक नेपाली टिम

पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनित शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम

२०७६ भाद्र १२, बिहीबार मा प्रकाशित