उपत्यकाव्यापी बास्केटबल : रेडिअन्ट दोहोरो उपाधिनजिक

काठमाडौं, भदौ १२ गते ।

आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । रेडिअन्टको सिनियर र जुनियर दुवै ब्वाइज टोली फाइनलमा पुग्न सफल भयो ।

सिनियर ब्वाइजमा रेडिअन्टले रुपिजलाई ५०–४६ ले पराजित गर्यो । रेडिअन्टको जितमा सुवास जिसीले २६ अंक योगदान गरे । फाइनलमा रेडिअन्टको भेट निम्ससंग हुनेछ । अर्को सेमिफाइनलमा राजन डंगोलको १६ अंक सहयोगमा निम्सले ओसिसलाई ५५–४४ ले हरायो।

जुनियर ब्वाइजको सेमिफाइनलमा रेडिअन्टले स्वर्णिमलाई २३–१० ले पाखा लगायो । रेडिअन्टका सुवास गौतमले ६ स्कोर गरे । रेडिअन्टले उपाधिका लागि सेब विरुद्ध खेल्नेछ । सेमिफाइनलमा सेबले महामञ्जुश्रीलाई १९–१५ ले निराश पार्यो। सेबका विकास डंगोलले ७ अंक बटुले ।
सिनियर गल्र्सको उपाधि भिडन्त द चाँदबाग र निम्सबीच हुनेछ । चाँदबागले एलआरआईमाथि १६–१२ को जित दर्ता गर्यो। चाँदबागकी रोजी राईले ६ स्कोर गरिन् । निम्सले इनोभेटिभलाई २७–१५ ले पन्छायो । निम्सकी डोल्मा तामाङले १७ अंक जोडिन् । फाइनल शुक्रबार हुनेछ ।

२०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित