नेपालको तेश्रो र अन्तिम अभ्यास खेल आज : यु-१९ श्रीलंका अभ्यास

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा शुक्रबार चिलाउ मारीएन्ससंग प्रतिस्पर्धा गर्दैछ।

भ्रमण अन्तर्गत नेपालले बिहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो। यस्तै पहिलो अभ्यास खेलमा मंगलबार सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित हुन पुगेको थियो।

नेपाल र चिलाउ मारीएन्स बिचको खेल नेपाली समय १० बजे सुरु हुने बताईएको छ। खेलको अपडेट विकेटनेपालको फेसबुक पेजवेबसाइटमा हेर्न सकिनेछ।

दोश्रो अभ्यास खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने क्रममा उत्कृस्ट बलिंग गरेको थियो। १६५ रनको लक्ष्य पछ्याउने क्रममा बदुरलिया क्रिकेट क्लब ८४ रनमै अलआउट हुन पुगेको थियो।

देब्रे हाते स्पिनर सागर ढकाल तथा अफ स्पिनर पवन सर्राफले राम्रो लय प्रदर्शन गरिरहेका छन्। सागरले १८ रन खर्चेर ५ विकेट लिएका थिए। अर्को तर्फ फास्ट बलर कमल सिंह ऐरीले पनि सुरुवाती विकेट दिलाउनु सकारात्मक पक्ष हो।

दोश्रो अभ्यास खेलमा रित गौतम , हरि बहादुर चौहानले राम्रो इनिंग खेलेका थिए। रितले राम्रो सुरुवात दिलाइरहेका छन्। समस्यामा इनिंग रहेको बेला हरिले तल्लो मध्यक्रममा जिम्मेवार इनिंग खेल्दै अर्धशतक बनाएका थिए।

नेपालको चिन्ता भने कप्तान रोहित पौडेलको लय रहेको छ। पौडेल दोश्रो अभ्यास खेलमा मात्र ३ रन तथा पहिलो अभ्यास खेलमा ८ रनमा आउट भएका थिए। यु-१९ एसिया कपमा राम्रो प्रदर्शन गर्ने हो भने रोहितले लय पाउनु महत्वपूर्ण रहेको छ।

रोहित पौडेल लयमा छैनन्

सिन्हालिज यु-२३ बिरुद्धको  पहिलो अभ्यास खेलमा नेपालको ब्याटिंग पक्ष राम्रो देखिएको थियो। रित गौतम र पवन सर्राफले राम्रो ओपनिङ्ग साझेदारी गरेका थिए भने ओपनर बाट तेश्रो नम्बरमा ब्याटिंग गर्न थालेका आसिफ शेखले ८८ रनको उत्कृस्ट इनिंग खेलेका थिए। तल्लो क्रममा भिम शार्की, हरि चौहान , भिम शार्कीले पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए।

बलिङ्गतर्फ भने नेपालको प्रदर्शन उच्च रहन सकेको थिएन। अफ स्पिनर पवन सर्राफले ३ विकेट लिंदै उत्कृस्ट सावित गरेका थिए भने अन्य बलरको प्रदर्शन खास रहन सकेको थिएन। अन्तिमको ओभरहरुमा किफायती बलिङ्ग गर्न नसक्दा नेपालले हार बेहोर्नु परेको थियो।

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान ) , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी , प्रशिक्षक – बिनोद दास

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

२०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित