कोर्टमा फर्किन् भलिबल सुन्दरी सिपोरा , फोटोहरुमा हेर्नुस पुनरागमन

शनिवार पोखराको लामाचौरमा सुरु भएको राष्ट्रिय महिला भलिवल प्रतियोगितामार्फत लामो समय मैदान बाहिर रहेकी चर्चित भलिबल सुन्दरी सिपोरा गुरुङले पुनरागमन गरेकी छिन्। खुट्टाको चोटको कारण उनि आफ्नो प्रिय खेलबाट बाहिर रहनुपरेको थियो।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन सिपोराको टिम न्यु डायमण्डले विजयी सुरुवात गर्यो। यस क्रममा उसले चितवन टाइगर्सलाई सोझो सेटमा २५-१४ , २५-२० र २५-१४ ले पराजित गर्यो। लामो समयपछि पुनरागमन गरे पनि सिपोराले टिमको जितमा बलियो प्रभाव छोडीन्।

शनिवार सम्पन्न अन्य खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गर्यो। शनिबार हुने भनिएका अन्य दुई खेल अत्याधिक बर्षाका कारण स्थगित हुन पुग्यो।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले गरे। कार्यक्रममा बोल्दै उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिनेछ। डीफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ विशेष कारण देखाएर प्रतियोगितामा सहभागी भएको छैन जसको सट्टा दाङको श्रीराम खेलकुद विकास समिति सहभागी भएको छ।

फोटोहरुमा हेर्नुस सिपोराको पुनरागमन कस्तो रह्यो- 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले गर्नुभएको थियो 

( फोटोहरु – पोखरास्पोर्ट्स / सुदर्शन रन्जित )

२०७६ भाद्र १५, आईतवार मा प्रकाशित