वेस्ट इन्डिज सहजै पराजित, कोहलीको ठुलो किर्तिमान

वेस्ट इन्डिज भ्रमणमा रहेको भारतले दोश्रो टेस्टमा घरेलु टिमलाई २५७ रनको फराकिलो अन्तरले पराजित गर्यो। यसअघि पहिलो टेस्टमा समेत ३१८ रनको फराकिलो जित निकालेको भारतले २ टेस्टको सिरिज क्लिन स्विप गरेको हो।

वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको यस सिरिजमा जित निकालेपछी भारत १२० अङ्क सहित अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ। अर्कोतर्फ वेस्ट इन्डिज भने च्याम्पियनसिप खेलेका टिमहरु मध्ये अन्तिममा रहेको छ।

वर्ल्ड टेस्ट च्याम्पियनसिप अङ्कतालिका

पहिलो इनिंगमा ब्याटिंग गर्दै भारतले ४१६ रन बनाएपछि वेस्ट इन्डिज ११७ रनमा अलआउट भएको थियो। २९९ रनको अग्रताको बाबजुत भारतले पुनः ब्याटिंग गर्दै १६८/४ को स्थितिमा ४६७ रनको अग्रता लिएर पारि समाप्तीको घोषणा गरेपछि लक्ष्य पछ्याएको वेस्ट इन्डिज २१० रनमा अलआउट हुँदै २५७ रनले पराजित भयो।

जमैका स्थित सबईना पार्कमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले पहिलो पारीमा ४१६ रन बनाएको थियो। भारतका लागि हनुमा विहारीले अन्तराष्ट्रिय करियरको पहिलो शतक बनाए। २२५ बलको सामना गरेका उनले १६ चौका प्रहार गर्दै अन्तिम खेलाडीको रुपमा आउट भएका थिए।

त्यस्तै इशान्त शर्माले पनि टेस्ट करियरको पहिलो अर्धशतक बनाएपछि विहारीसँग आठौँ विकेटको लागि ११२ रनको साझेदारी गरेका थिए। शर्माले ८० बलमा ५७ रन बनाए। कप्तान विराट कोहलीले ७६ रन र मयंक अग्रवालले समेत ५५ रन बनाए।

वेस्ट इन्डिजको लागि जेसन होल्डरले ७७ रन खर्चेर ५ विकेट तथा डेब्यु टेस्ट खेलिरहेका रखिम कर्नवालले १०५ रनमा ३ विकेट लिए।

जवाफमा उत्रेको घरेलु टिम जस्प्रित बुम्राहको बलिंगको अगाडी धरासायी भयो। उसले मात्र ११७ रन बनाउन सक्यो। बुम्राहले मात्र २२ रन खर्चेर ६ विकेट लिनेक्रममा ड्यारेन ब्रावो, शमारह ब्रुक्स र रोस्टन चेजको विकेट लिंदै ह्याट्रिक समेत पुरा गरे। वेस्ट इन्डिजका लागि शीम्रोन हेटमायरले सर्बाधिक ३४ रन बनाए। बुम्राहलाई साथ दिंदै भारतका लागि मोहम्मद शामीले २ तथा इशान्त शर्मा र रविन्द्र जडेजाले समान १/१ विकेट लिए।

भारतले पहिलो पारीको समाप्तीमा २९९ रनको अग्रता लिएपनि ‘फलो अन’ नदिई ब्याटिंग गरेको थियो।

दोश्रो पारीमा खराब ब्याटिंग गरेको भारतले मात्र ५७ रनमा सुरुवाती ४ विकेट गुमाएको थियो। विराट कोहली गोल्डेन डक भए। त्यसपछी अजिंक्या रहाने र पहिलो पारीमा शतक बनाएका विहारीले अविजित १११ रनको साझेदारी गरेपछी १६८/४ को स्थितिमा ४६७ रनको बिशाल अग्रता लिएर पारि घोषणा गर्यो। रहानेले अविजित ६४ तथा विहारीले अविजित ५३ रन बनाए। वेस्ट इन्डिजका केमार रोचले ३ विकेट लिए।

४६८ रनको बिशाल लक्ष्य सहित मैदानमा उत्रेको वेस्ट इन्डिजले ५९.५ ओभरमा चौथो दिन नै २१० रनमात्र बनाउन सक्यो। उसका लागि शमारह ब्रुक्सले ५० रनको पारि खेलेपनि विराट कोहलीको थ्रोमा रन आउट भए। त्यसरी जर्माइन ब्ल्याकवुडले ३८ तथा कप्तान जेसन होल्डरले ३९ रन बनाए।

भारतका तर्फबाट मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३/३ विकेट तथा इशान्त शर्माले २ र जस्प्रित बुम्राहले १ विकेट लिए।

खेलको पहिलो पारीमा शतक तथा दोश्रो पारीमा अविजित अर्धशतक बनाएका हनुमा विहारी प्लेयर अफ द म्याच घोषित भए।

कोहली भारतका सबैभन्दा सफल कप्तान

यस सिरिजको दोश्रो खेलमा जित निकालेपछि विराट कोहली भारतका लागि टेस्ट क्रिकेटका सबैभन्दा सफल कप्तान बनेका छन्। कोहलीको कप्तानीमा भारतले २८ टेस्टमा जित निकालेको छ। उनले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको २७ खेलको जितको किर्तिमानलाई पछाडी छोडे।

वेस्ट इन्डिज भ्रमणमा भारतको प्रदर्शन

वेस्ट इन्डिज भ्रमण अन्तर्गत भारतले टि२० सिरिज ३-०, एकदिवसीय सिरिज २-० र टेस्ट सिरिज २-० ले जित्यो।

पहिलो टि२०: भारत ४ विकेटले विजयी
दोश्रो टि२०: भारत २२ रनले विजयी (डिएलएस मेथड)
तेस्रो टि२०: भारत ७ विकेटले विजयी

पहिलो एकदिवसीय: नो-रिजल्ट
दोश्रो एकदिवसीय: भारत ५९ रनले विजयी (डिएलएस मेथड)
तेस्रो एकदिवसीय: भारत ६ विकेटले विजयी (डिएलएस मेथड)

पहिलो टेस्ट: भारत ३१८ रनले विजयी
दोश्रो टेस्ट: भारत २५७ रनले विजयी

२०७६ भाद्र १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment