१३ औं सागको लोगो र मस्कट मनास्लु पुर्‍याइने

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मानास्लु हिमालको चुचुरोमा पुर्‍याइने भएको छ ।

आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे ।

सदस्य–सचिव रमेशकुमार सिलवाल आरोही प्रकाशराज पाण्डेलाई ब्यानर हस्तान्तरण गर्दै

मनास्लुको चुचुरोमा पुर्याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए । सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन् ।

२०७६ भाद्र २०, शुक्रबार मा प्रकाशित