१३औ सागका लागि बक्सिङ छनोट सम्पन्न

१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङमा ८ सहित जम्मा १६ खेलाडी छनोट भएका छन्।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो । यसअघि सोमबार पनि पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३औं सागको यात्रा तय गरेका हुन।

मंगलबार भएको पुरुषतर्फ ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाएका थिए । विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए । पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए ।

१३औ साग छनोटको खेलाडी तथा खेलाडीका साथमा अन्य महानुभव

दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाले । महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् ।

६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन् । यसअघि सोमबार पुरुषतर्फ ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्फ भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।

२०७६ भाद्र ३१, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment