तेश्रो टि-२० मा दक्षिण अफ्रीकासंग भारत सहजै पराजित, सिरिज बराबरी

भारतलाई अन्तिम खेलमा ९ विकेटको ठुलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रीकाले ३ वटा टि-२० सिरिज १-१ ले बराबरी गरेको छ। सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण नतिजाविहिन रहे पछि दोश्रो टि-२० भारतले ७ विकेटले जितेको थियो। तेश्रो टि-२० मा भारत सहजै पराजित भयो।

बेन्ग्लुरुमा सम्पन्न खेलमा भारतले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रीकाले मात्र १ विकेट गुमाएर १६.५ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकन ओपनर रिजा हेनड्रिक्स र क्विन्टन डीककले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। २८ रन बनाएका हेनड्रिक्स ११ औं ओभरमा हार्दिक पान्ड्याको शिकार भएता पनि त्यसपछि डीककले तेम्बा बभुमासंग दोश्रो विकेटको लागि ६४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

 

टि-२० अन्तर्राष्ट्रियमा १ हजार रन समेत पुरा गरेका डीककले अविजित ७९ रन बनाए जुन क्रममा ५२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। दक्षिण अफ्रीकाको लागि टि-२० मा १ हजार रन पुरा गर्ने उनि छैठौं ब्याट्सम्यान हुन्। बभुमाले अविजित २७ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे।

भारतको चलेन ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा भारतले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो। एक समय ६३ रनमा मात्र १ विकेट गुमाएको भारतले त्यसपछि लगातार विकेट गुमाउन पुग्दा ठुलो योगफल बनाउन असफल रहेको थियो।

ओपनर रोहित शर्मा ९ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि शिखर धवन र बिराट कोहलीले ४१ रनको साझेदारी गरेका थिए। २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाएका धवनलाई तब्रेज शाम्सीले क्याच आउट गराए पछि भारतको विकेट पतन सुरु भएको थियो।

नवौं ओभरमा ९ रन बनाएका कोहलीलाई कागीसो रबाडाले नवौं ओभरमा क्याच आउट गराए। त्यसपछि रिशाभ पन्त १९, श्रेयस ऐयर ५,  क्रुनाल पान्ड्या ४ रन बनाएर आउट भए। आठौँ नम्बरमा ब्याटिंग गरेका रबिन्द्र जडेजाले १९ रन बनाउदै भारतलाई सम्मानजनक योगफल तर्फ डोर्याए। उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडाले ३ ( ४-०-३९-३ ) तथा बिजोर्न फर्चुन ( ३-०-१९-२ ) र ब्युरन हेन्ड्रिक्सले ( ४-०-१४-२ ) ले २/२ विकेट लिए।

टि-२० सिरिज पछि अब दुई देश बीच अक्टोबर २ देखि ३ वटा टेस्टको सिरिज सुरु हुनेछ।

२०७६ आश्विन ५, आईतवार मा प्रकाशित

Loading...

1 Comments

Leave a Comment