पीपीएल टि-२० को मिति घोषणा

( फिचर फोटो – गत सिजन पोखरा प्रिमियर लिगको विजेता पोखरा पल्टन )

पोखरा प्रिमियर लिग ( पीपीएल ) टि-२० को दोश्रो संस्करण नोभेम्बर १२ देखि २३ सम्म ( कार्तिक २६ देखि मङ्सिर ७ गते ) पोखरामा आयोजना हुने भएको छ।

राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल पनि संलग्न रहेको क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने लिगको पहिलो संस्करण कार्तिक ९ देखि २० सम्म आयोजना गरिएको थियो। गत सिजन दशैं र तिहारको बीचमा लिग आयोजना भएको थियो भने यो पटक तिहार पछि लिग आयोजना हुनेछ।

पीपीएल टि-२० मा पोखरा पल्टन, चितवन राइनोज, बुटवल ब्लास्टर्स, बिराटनगर टाईटन्स, काठमाडौँ रोयल्स र धनगढी ब्लुज गरि ६ सहरको प्रतिनिधित्व गर्ने टोलिहरु सहभागी हुनेछन्। पहिलो सिजनको च्याम्पियन पोखराको कप्तान शरद भेसावकर रहेका थिए। यस्तै चितवनको कप्तान पारस खड्का, बुटवलको सोमपाल कामि, बिराटनगरको सन्दिप लामिछाने, काठमाडौँको ज्ञानेन्द्र मल्ल तथा धनगढीको दिपेन्द्र ऐरी रहेका थिए।

सन्दिप लामिछाने यो पटक पीपीएल नखेल्ने

गत सिजन पोखरा प्रिमियर लिगको पुरा सिजन खेलेका सन्दिप लामिछानेले यो पटक पीपीएल नखेल्ने बताईएको छ। सोहि समयमा टि-१० लिग युएईमा आयोजना हुने हुँदा सन्दिपले लिग नखेल्ने सम्भावना प्रवल रहेको हो।

प्रतियोगिताको अक्सन ३ वर्षको लागि गत वर्षनै गरिएको हुँदा यो पटक अक्सन आयोजना हुनेछैन। टिमहरुले खेलाडीहरु रिलिज भने गर्न सक्नेछन् र रिक्त स्थान पूर्ति गर्न सक्नेछन्।

गत सिजन पोखरा प्रिमियर लिगको पिच राम्रो भएको कारण प्रसंशा पाएको थियो। तर दर्शकहरुको उपस्थितिको हिसाबले भने लिग असफल रहेको थियो।

एभरेस्ट प्रिमियर लिगले यो पटक प्रतियोगिताको आकर्षक घोषणाहरु गर्दा पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगलाई पनि आफ्नो स्तर बढाउने चुनौती थपिएको छ। इपिएल प्रत्यक्ष प्रशारणको स्तर, विदेशी खेलाडी र आयोजनाको स्तरमा निकै अघि बढ्दा पीपीएलले यो पटक आयोजना कसरि फरक गर्नेछ त्यो प्रतीक्षाको विषय रहेको छ।

गत सिजन पिचको प्रसंसा भए पनि दर्शकहरुको उपस्थिति भने निकै कम रहेको थियो

पीपीएलको पहिलो सिजन युएई राष्ट्रिय क्रिकेटर रोहन मुस्तफा, चिराग सुरी, मोहम्मद नबिद जस्ता विदेशी खेलाडी लिगमा खेलेका थिए। लिगमा भारतीय खेलाडीहरु सन्नी पटेल, रभी इन्दर सिंह, गौरभ तोमर जस्ता खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए। यस्तै इंग्ल्याण्डको माथिल्लो स्तरको घरेलु क्रिकेटरहरु पिटर ट्रेगो, ड्यानीयल लरेन् जस्ता खेलाडीहरु पनि लिग खेलेका थिए।

इपिएलले टेस्ट राष्ट्रको लागि खेलीसकेका खेलाडीहरु टिममा खेलाउन अनिवार्य गर्दा पीपीएलमा यो पटक कस्ता विदेशी खेलाडीहरु खेल्नेछन् कौतुहलताको विषय बनेको छ।

२०७६ आश्विन ६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment