सन्दिपले गुमाए हिरो बन्ने मौका, राम्रो प्रदर्शनका बाबजुद बार्बेडोस पराजित

सन्दिप लामिछानेले राम्रो बलिंग प्रदर्शन गरेता पनि करेबियन प्रिमियर लिग अन्तर्गत छैठौं खेलमा बार्बेडोस ट्राइडेन्टले जमैका तल्लावाहसंग हार बेहोरेको छ।

रोमान्चक खेलमा जमैका तल्लावाहले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर ब्याटिंग गरेता पनि बार्बेडोसले ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो र ५ रनले खेल हार्न पुग्यो।

हार पछि पनि ६ खेलको समाप्ति मा २ जित र ४ हार बेहोरेको बार्बेडोस अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। जमैका भने अंक तालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लेको छ। जमैकाले ८ खेल खेल्दा २ जित र ६ हार बेहोरेको छ।

सन्दिपले गुमाए हिरो बन्ने मौका 

लक्ष्य पछ्याउने क्रममा बार्बेडोसलाई अन्तिम २ बलमा जितको लागि ६ रन आवश्यक रहेको थियो भने साथमा १ विकेट मात्र बाँकी। स्ट्राइकमा थिए सन्दिप लामिछाने जसले यस अघि ६ बलमा १ चौका प्रहार गर्दै ९ रन बनाईसकेका थिए। २ बलमा ६ रन बनाउदै सन्दिप खेलको हिरो बन्न सक्थे। तर ड्वेन स्मिथले गरेको ओभरको पाँचौ र छैठौं बलमा सन्दिपले छक्का हान्ने प्रयास गरेता पनि दुवै बल उनले छुनै सकेनन्। यस क्रममा कमेन्टेटरले सन्दिपले अहिलेसम्म छक्का प्रहार गर्न नसकेको र आज राम्रो अवसर रहेको बताएका थिए। ८ बलमा १ चौका मदतले अविजित ९ रन बनाए पनि सन्दिपले खेल भने जिताउन सकेनन्।


यस अघि १० औं नम्बरमा १८ औं ओभरमा ब्याटिंग गर्न आएका सन्दिपले सामना गरेको चौथो बलमा इमरान खानलाई लंग-अनमा चौका प्रहार गर्दै खेललाई रोमान्चक स्थितिमा ल्याउन भूमिका खेलेका थिए। चौका प्रहार गर्नु अघिको २ बलमा उनले २/२ रन लिएका थिए।

रोमान्चक रह्यो खेल 

अन्तिम २ ओभरमा जितको लागी बार्बेडोसलाई जित्न २९ रन आवस्यक रहेको थिओ। १९ औं ओभरमा रेमन रिफरले शामर स्प्रिंगरलाई १ छक्का र २ चौका प्रहार गरेपछि अन्तिम ओभरमा  १५ रन आवस्यक थियो। ड्वेन स्मिथले गरेको अन्तिम ओभरको दोश्रो बलमा रिफरले छक्का प्रहार गर्दा खेल रोमान्चक स्थितितर्फ जाने देखिएको थियो। तर चौथो बलमा रिफर छक्का हान्ने प्रयास गर्दा डिप कभरमा समातिन पुगेपछि अन्तिम २ बलमा आवस्यक ६ रन सन्दिपले प्रहार गर्न सकेनन्।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको तल्लावाहले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको। तल्लावाहको लागि ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ४१ रन तथा रामाल लुइसले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले खास प्रदर्शन गर्न सकेनन्। बार्बेडोसको बलिंगमा कप्तान जेसन होल्डर , सन्दिप लामिछाने र रेमन रेफरले समान २/२ विकेट लिए।

यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन 

खेलमा जमैकालाई सानो योगफलमा समेट्न सन्दिपले उत्कृस्ट बलिंग प्रदर्शन गरे। उनले २ विकेट लिने क्रममा मात्र १७ रन मात्र खर्चिए।

पहिलो ओभर : ३ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , २ ) : इनिंगको पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिंग गरेका सन्दिपले दोश्रो बलमै चाडविक वाल्टनको विकेट लिए। ड्राइभ गर्दा एज लाग्दै स्लिपमा उनि एशले नर्सबाट उत्कृस्ट रुपमा समातिन पुगेका थिए।  विकेट पछि लगातार ३ बल डट गरेका सन्दिपले अन्तिम बलमा २ रन दिए। ओभरमा मात्र ३ रन खर्चेर उनले विकेट दिलाए।

दोश्रो ओभर : ५ रन खर्चेर १ विकेट ( १ , १ , १ , विकेट , १ , १ )  : नवौं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले तेश्रो बलमा ड्वेन स्मिथको महत्वपूर्ण विकेट लिंदै जमैका तल्लावाहलाई कमजोर स्थितिमा पुर्याएका थिए। मात्र १ रन बनाएका स्मिथ ठुलो सट खेल्ने क्रममा टप एज लाग्दै क्याच आउट हुन पुगे। ओभरमा सन्दिपले मात्र ५ रन खर्चेर १ विकेट लिए।

Sandeep Lamichhane

तेश्रो ओभर : ५ रन ( १ , ० , १ , ० , १ , २ बाई ) : १६ औं ओभरमा तेश्रो ओभर लिएर आएका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। ओभरको दोश्रो बलमा रामाल लुइसले रिभर्स स्विप गर्ने क्रममा खुट्टामा लागेपछि सन्दिपले गरेको अपिल अम्पायरले नकारे। त्यसपछि ओभरको अन्तिम बलमा लुइसले अगाडी बढेर खेल्दा सन्दिपको गुगलीमा बिट हुन पुगेका थिए तर विकेटकिपरले गल्ति गर्दै स्टम्पिंग गर्न चुक्दा सन्दिपले तेश्रो विकेट लिन पाएनन्।

चौथो ओभर : ६ रन ( २ , ० , १ , ० , २ , १ ) : लगत्तै स्पेलमा बलिंग गरेका सन्दिपले १८ औं ओभरमा बलिंग गर्ने क्रममा मात्र ६ रन खर्चिए। पाँचौ बलमा डर्नब्याचले प्रहार गरेको सट डिप स्क्वायर लेग फिल्डर भन्दा थोरै अघि खस्न पुगेको थियो। अर्को मौका सिर्जना गरे पनि सन्दिपले २ विकेटमै चित्त बुझाउनु पर्यो।

उत्कृस्ट बलिंग गरेका सन्दिपले ४ ओभरमा कुनै पनि बाउन्ड्री प्रहार हुन दिएनन् भने कुल १० वटा डट बल गरे। ४ ओभरमा उनले १७ रन खर्चेर २ विकेट लिए पनि यो करेबीयन प्रिमियर लिगमा सन्दिपको सबैभन्दा किफायती स्पेल भने हैन। उनले गत वर्ष सेन्ट किट्सको लागि खेल्ने क्रममा गुएना अमेजन वारियर्स बिरुद्ध २ विकेट लिंदा मात्र १२ रन खर्चिएका थिए। यस्तै सेन्ट लुसिया स्टार्ससंग पनि २ विकेट लिंदा त्यो भन्दा कम १३ रन मात्र खर्चिएका थिए।

प्रतियोगितामा हालसम्म सन्दिपको बलिंग प्रदर्शन 

प्रतियोगितामा छैठौं खेल खेल्दा सन्दिपले आफ्नो विकेट संख्या ८ पुर्याएका छन्। पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध र पाँचौ खेलमा गुयना अमेजन वारियार्स बिरुद्ध उनले १ विकेट लिएका थिए।

बिरुद्ध – गुयना अमेजन वारियर्स : ० विकेट ( १-०-५-० )
बिरुद्ध – सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स – ३ विकेट ( ४-०-२२-३ )
बिरुद्ध – जमैका तल्लावाह – १ विकेट ( ४-१-३५-१ )
बिरुद्ध – सेन्ट लुसिय जुक्स – १ विकेट ( ३.५-०-२९-१ )
बिरुद्ध – गुयना अमेजन वारियार्स – १ विकेट ( ३-०-२१-१ )

 

२०७६ आश्विन ७, मंगलवार मा प्रकाशित