यु-१८ साफमा खराब प्रदर्शनपछी प्रशिक्षकको राजीनामा

यु-१८ राष्ट्रिय फुटबल टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन्। उनले नेपाल जारि साफ च्याम्पियनसिपमा टिम खराब प्रदर्शन गर्दै समुहचरणबाट बाहिरिएपछी यस्तो घोषणा गरेका हुन्।

यसअघि भएका साफ च्याम्पियनसिपको दुई संस्करणमा बिजेता बनेको नेपालले लज्जास्पद प्रदर्शन गरेपछि प्रशिक्षकले हारको सम्पूर्ण जिम्मेवारी लिंदै आफु यस लेभलको लागि योग्य नभएको प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, “अन्तर्राष्ट्रिय स्तरको फुटबलमा मेरो अनुभव नपुगेको देखियो। हारको सम्पूर्ण जिम्मेवारी लिंदै प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गर्छु। ”

यसअघि नेपालको यु-२१ र यु-१८ टिमको प्रशिक्षण गरेका श्रेष्ठको राजिनामा एन्फालाई प्राप्त भैसकेको एन्फाका प्रबक्ता किरण राइले बताएका छन्। अब टेक्निकल टिमसँगको छलफलपछी छिट्टै नयाँ प्रशिक्षक छनोटको तयारीमा अगाडी बढ्ने राइले गोलनेपालसँगको कुराकानीमा बताए।

घरेलु मैदानमा नै आयोजित प्रतियोगितामा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो। यस्तै भुटानसँग दोश्रो खेलमा ३-० को अन्तरले लज्जास्पद हार व्यहोरेको थियो। नेपाल भुटानसँग इतिहासमा नै दोश्रो पल्ट पराजित भएको हो। त्यसपछि नेपालको दोश्रो चरणमा प्रवेश गर्ने गणितीय सम्भावना मात्र रहेको थियो।

तर समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोल रहित बराबरी खेलेपछि दुवै टिम अर्को चरणमा प्रवेश गरे।

नेपालले अब एएफसी यु१९ प्रतियोगिताको तयारीमा लाग्ने छ।

२०७६ आश्विन ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment