विश्वकप च्यालेन्ज लिग : ६६ रन बनाउन नसक्दा मलेसिया भानुआटुसंग पराजित

मलेसियामा जारि क्रिकेट विश्वकप च्यालेन्ज अन्तर्गत समुह ‘ए’ को खेल अन्तर्गत आयोजक मलेसियाको कमजोर प्रदर्शन जारि। बुधबार पाँचौ खेल खेल्दा चौथो हार बेहोर्ने क्रममा मलेसियालाई सबैभन्दा कमजोर मानिएको टिम भानुआटुले पराजित गर्यो।

सेलंगुर टर्फ क्लब क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै भानुआटुले दिएको ६६ रनको लक्ष्य समेत पछ्याउन मलेसिया असफल रह्यो। २१.४ ओभरमा मलेसिया ५२ रनमै अलआउट हुँदै १३ रनले खेल हार्न पुग्यो।

लक्ष्य पछ्याउने क्रममा पहिलो बल देखि विकेट गुमाएको मलेसियाले एक समय ७ रन बनाउदा ५ विकेट गुमाईसकेको थियो। छैठौं नम्बरमा ब्याटिंग गरेका अमिनुद्दीन रामलीले २५ रन बनाउदै मलेसियाको लाज ढाके। नजरिल रहमानले १० रन बनाए। दुइ ब्याट्सम्यान बाहेक अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भानुआटुको लागि तिब्र गति बलर प्याट्रिक मटाउटाभाले ५  विकेट ( १०-३-१९-५ ) तथा एपोलिनेरि स्टेफेनले ३ विकेट ( ६-०-३०-३ ) लिए। प्याट्रिक प्लेयर अफ द म्याच चुनिए।

यस अघि भानुआटुले २५.१ ओभरमा मात्र ६५ रन बनाउन सकेको थियो। मलेसियाको लागि पभनदिप सिंह ( ९.१-४-१६-४ ) र नज्रिल रहमान ( ६-३-१४-४ ) ले ४ विकेट लिए। भानुआटुको लागि नालिन निपिकोले सर्वाधिक १२ रन बनाए।

प्रतियोगिताको विजेता टिम २०२२ मा आयोजना हुने आईसीसी विश्वकप प्ले-अफ  प्रतियोगिताको लागि छनौट हुनेछ। उक्त प्रतियोगितामा विश्व कप लिग-२ को तल्लो ४ स्थानमा रहने टिम र विश्वकप लिग च्यालेन्जको २ वटा समुहको विजेता गरि ६ टिम सहभागी हुनेछ। ६ टिमबाट उत्कृस्ट हुने २ टिमले २०२२ विश्वकप छनौट खेल्नेछ।

लिग अंकतालिकामा हालसम्म क्यानडाले ३ वटै खेलमा जित हात पार्दै ६ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ। समान ६ अंक सहित ४ खेलमा ३ जित र १ हार बेहोर्दै सिंगापुर दोश्रो स्थानमा रहेको छ। ४/४ अंक रहेको डेनमार्क र कतार तेश्रो र चौथो स्थानमा तथा २/२ अंक रहेको मलेसिया र भानुआटु पाँचौ र छैठौं स्थानमा रहेका छन्।

प्रतियोगितामा मलेसियाले पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको थियो जसपछि क्यानडासंग २०६ रनले , कतारसंग ३ विकेटले तथा सिंगापुरसंग ४ विकेटले पराजित हुन पुग्यो।

२०७६ आश्विन ८, बुधबार मा प्रकाशित