आईसीसीको आगामी मिटिंगले क्यानको निलम्बन फुकुवा गर्नेछ – सदस्य सचिव शिलवाल

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले असोज १० र ११ गते हुने क्रिकेट संघको निर्वाचन पछि नेपाललाई आईसीसीले लगाएको प्रतिवन्ध फुकुवा हुने बताउनु भएको छ।

सिंगापुर र ओमानमा टि-२० सिरिज खेल्न बुधबार सिंगापुर प्रस्थान गर्ने क्रममा आयोजित विदाई कार्यक्रममा बोल्दै शिलवालले निर्वाचन पछि नेपाली क्रिकेटले नयाँ दिशा लिने विश्वास व्यक्त गर्नुभयो ।

“क्रिकेट संघको साधारणसभाले क्रिकेटको नयाँ बाटो लिन्छ। आईसीसीसंग ३७ पटक यो बीचमा कुरा गरे। मलाई के बिश्वास छ भने यो १० र ११ गते हुने क्यानको निर्वाचनले क्रिकेटलाई एउटा बाटोतिर लैजान्छ।”

“अक्टोबर १३ मा हुने आईसीसीको मिटिंग छ त्यसबाट म ९९.९ प्रतिशत नेपालको प्रतिबन्ध फुकुवा हुने देख्छु। त्यसपछि क्रिकेटले एउटा गति लिन्छ।”

सिंगापुर र ओमान सिरिज खेल्ने नेपाली टिमलाई विदाई गर्दै सिलवाल

शिलवालले निलम्बनको अबधिमा क्रिकेट बचाउन खेलाडी र क्रिकेट प्रेमीहरुले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे –

“यो प्रतिबन्धको अविधिमा क्रिकेट बचाएको खेलाडीले हो र क्रिकेट प्रेमीहरुले हो।  त्यसैले स्यालुट गर्नुपर्छ।”

संघको निलम्बन फुकुवा भएता पनि आगामी दिनमा क्रिकेट विकास गर्न बिभिन्न पक्षमा ध्यान पुर्याउनुपर्नेमा समेत उनले जोड दिए –

“क्रिकेट बचाउने मान्छे कति संघमा आउछन् भन्नेले निर्धारण गर्छ। प्रतिबन्ध त फुकुवा होला तर त्यसपछि ३ वटा पक्षमा विचार गर्नु पर्छ।”

“अबको क्रिकेट सिस्टममा जान्छ कि जाँदैन , अबको क्यानमा पारदर्शीता हुन्छ कि हुँदैन , गुड गभरनेन्स हुन्छ कि हुँदैन , त्यसको आधारमा नेपालले सहयोग कति पाउने , कति रकम पाउछ भन्ने कुरा निर्धारण गर्छ। अबको संघले आर्थिक पारदर्शिता , सुशासन र सिस्टम भित्र बसेन भने नेपाली क्रिकेट अगाडी बढ्दैन।”

“ग्रास रुटमा कसरि क्रिकेट विकास हुन्छ त्यो अनुसार हाम्रो भविष्य के हुन्छ निर्धारण हुन्छ। खेलकुद परिषदले ८ वटा रंगशाला निर्माण गरेर खेल्न योग्य बनाउदै छौँ।”

नेपाल क्रिकेट संघको नेतृत्वको लागि चतुर बहादुर चन्द, विनय राज पाण्डे , बिनोद मैनालीले आफुलाई अघि सारेका छन्। निर्वाचनमा जिल्ला र प्रदेशका ५९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्।

२०७६ आश्विन ८, बुधबार मा प्रकाशित