ट्वीटरमा फ्यानले गम्भीर आरोप लगाएपछि सन्दिपको खण्डन

आफ्नो बलिंगले विश्व क्रिकेटमा छुट्टै नाम बनाउदै नेपालको नाम समेत उचो बनाइरहेका सन्दिप लामिछाने मैदान भित्र जति चर्चामा रहने गर्छन् उनको मैदान बाहिरको गतिविधिले पनि चर्चा बटुल्ने गर्छ।

बार्बेडोस ट्राइडेन्ट्सको लागि करेबियन प्रिमियर लिगमा दोश्रो सिजन सहभागिता जनाएका सन्दिप नेपाली राष्ट्रिय टिमको खेल रहेकोले लिग बिचैमा छोडेर सिंगापुर पुगीसकेका छन्। नेपालले सेप्टेम्बर २७ देखि सिंगापुरमा र त्यसलगत्तै ओमानमा टि-२० सिरिज खेल्दैछ जसमा सन्दिप पुनः नेपाली जर्सीमा देखिनेछन्।

ठुला विदेशी लिगमा लगातार खेलीरहे पनि सन्दिपले नेपाली राष्ट्रिय टिमको खेल पर्दा विदेशी लिग भन्दा राष्ट्रिय टिमलाईनै रोज्ने गरेका छन्। करेबियन प्रिमियर लिगको गत सिजन , ग्लोबल टि-२० लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग जस्ता प्रतियोगिताहरु नेपाली टिमको खेल परेकोले सन्दिपले छोड्नु परेको छ।

करेबियन प्रिमियर लिग बिचैमा छोडेर सन्दिप नेपाल फर्किदै गर्दा ट्वीटरमा एक फ्यानले सन्दिपलाई सधै विवादमा आउने, पैसाले मातेको र सीपीएल छोडेर नेपालको लागि खेल्न बोलाएकोले पारससंग रिसाएको आरोप लगाएपछि सन्दिपले पुनः सामाजिक संजालमा आफुलाई रोक्न सकेनन्।

ट्वीटरमा मिलन सापकोटाको ट्वीट यस्तो थियो “सन्दिप लामिछानेले पारस खड्कालाई ट्वीटरमा अनफलो गरेछन्।  विवाद के थियो थाहा भएन तर सन्दिपले जे गरे गलत गरे। पैसा कमाए होलान् सन्दिपले तर पारस दाजुको स्तरमा आउन वर्षौं लाग्छ। नेपालीले नै हिरो बनाए सन्दिपलाई , जिरो नि बनाउन सक्छन्।” यो प्रश्न उनले लागत कार्कीलाई सोधेका छन्।

उक्त  ट्वीटको जवाफमा लागत कार्कीले लेखेका छन् “डिटेल त थाहा भएन तर रमन शिवाकोटीको बारेमा केहि मनमुटाव भएको हुन सक्छ। सन्दिप जति हिरो भएनी पारस दाजुसंग टक्कर गर्न चाही सुहाउदैन। आफ्नै पतनको बाटो रोज्नु हो यस्तो गर्नु”

उक्त ट्वीटपछि मिलन सापकोटाले पुनः ट्वीट गर्दै लेखेका छन् “तेही त , सधै विवादमा आउछ सन्दिप। पैसाले मातेको रैछ। मैले सुनेको थिए सीपीएलबाट बोलायो भनेर रिसाएको रे।”

सापकोटाको अन्तिम ट्वीटमा सन्दिप लामिछानेले रिप्लाई गर्दै त्यो आरोपको खण्डन गरेका हुन्। सन्दिपको ट्वीट-  “सुन्ने कुरा धेरै हुन्छ हजुर। कसको सुन्नु हुन्छ तपाईले ? म नि हेरुम न कसले भनेको रैछ कि सीपीएलबाट  बोलाउदा म रिसाए। सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ। कति सजिलै तपाईले मलाई जज गर्नु भयो है ? मन सफा हुनुपर्छ हजुर पैसा त आउने जाने कुरा हो”

ट्वीटर र इन्स्टाग्राममा सन्दिपको फलो सुचीमा छैनन् पारस 

ट्वीटरमा सन्दिपलाई १ लाख ६२ हजार भन्दा बढीले फलो गरेका छन् भने इन्सटाग्राममा १ लाख ३९ हजार फलोअर छन्। सन्दिपले ट्वीटरमा १८ जनालाई फलो गरेका छन् भने इन्सटाग्राममा २२ जनालाई फलो गरेका छन्।

ट्वीटरमा सन्दिपले फलो गरेको सुचीमा नेपाली राष्ट्रिय क्रिकेटर करन केसी, सोमपाल कामि, बिनोद दास, सुबास खकुरेल र शरद भेसावकर रहेका छन्। यस्तै उनले पुर्व प्रशिक्षक पुबुदु दासानायके, पुर्व क्यान सीइओ भावना घिमिरे, राष्ट्रिय टिम तथा सन्दिपकै नेपाल व्यवस्थापक रमन शिवाकोटीलाई फलो गरेका छन्। इन्सटाग्राममामा सन्दिपले राष्ट्रिय क्रिकेटर सोमपाल कामि, शरद भेसावकर, करन केसी, रोहित पौडेल, बिनोद दास, जितेन्द्र ठकुरी , दिपेन्द्र ऐरीलाई फलो गरेका छन्।

ट्वीटर र इन्सटाग्राममा दुवैमा सन्दिपले राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई पछ्याएका छैनन्। पारसले ट्वीटरमा ३१५ र इन्सटाग्राममामा ३५२ जनालाई फलो गरेका छन्। ट्वीट र इन्सटाग्राम दुवैमा पारसले भने सन्दिपलाई भने फलो गरेका छन्।

केहि अघिसम्म पारसलाई सन्दिपले पछ्याएको र अहिले नपछ्याएको देखेपछि सामाजिक संजालमा पछिल्लो केहि समय पारस र सन्दिपको सम्बन्ध चिसिएको भन्दै लेखिरहेका छन्।

रमन शिवाकोटी कनेक्सन ?

नेपाली अन्डर-१९ राष्ट्रिय टिम श्रीलंकामा रहंदा लामो समय देखि नेपाली राष्ट्रिय टिमका मिडिया म्यानेजर रमन शिवाकोटीलाई मिडिया म्यानेजर देखि निकालियो। उनको स्थानमा सुरज शाक्यलाई नियुक्त गरियो। शिवाकोटी अन्डर-१९ टिमसंग पुग्दा नेपाली टिमको दक्षिण एसियाली खेलकुदको बन्दसत्र टिम घोषणा गरियो। यस अघि टिमको घोषणा रमन शिवाकोटीको इमेलबाट आउनु गर्थ्यो तर त्यसबेला सुरज शाक्यबाट मेल आएको थियो। टिम घोषणा गर्दाको उक्त मेलमा टिमको मिडिया म्यानेजरको जिम्मेवारी आफुलाई हस्तान्तरण गरिएको र अब देखि टिमबारे आफुलाई सम्पर्क गर्न शाक्यले इमेलमा लेखेका थिए।

रमन शिवाकोटीलाई जानकारी नगराई मिडिया म्यानेजरबाट हटाएर सुरज शाक्यलाई नियुक्त गरेपछि ट्वीटरमा शिवाकोटीले “A meaningful silence is always better than meaningful words” अर्थात् शब्दमा व्यक्त गर्नु भन्दा चुपचाप रहनुलेनै धेरै कुरा बोल्ने आशयको ट्वीट गरेका थिए।

राष्ट्रिय टिमका व्यवस्थापक तथा टेक्निकल एनालिस्ट समेत रहेका शिवाकोटी सन्दिप लामिछानेको नेपाल व्यवस्थापक समेत हुन्। शिवाकोटीको उक्त ट्वीट गरेपछि सन्दिपले जवाफी ट्वीट गर्दै उनको समर्थन गरेका थिए ” You are a true champion brother. No one can do your job like you did with honesty. Actions will speak louder than words again. I am sure that you will rise again. #IAmWithYou ?”

“तपाई वास्तविक च्याम्पियन हुनुहुन्छ। कसैले पनि तपाईले जस्तो इमान्दारिताले काम गर्न सक्दैन। शब्दले भन्दा कामले बढी बोल्नेछ। म ढुक्क छु तपाई फेरी उदाउनुहुनेछ”

यो ट्वीट गरेकै अघिल्लो दिन सन्दिपले Remember : “KARMA” will hit you back. भन्दै ट्वीट गरेका थिए। यो ट्वीट को प्रति लक्षित थियो भन्ने थाहा नभएता पनि सोहि समयमा आउनुले भने संका गर्ने ठाउँ थियो।

१ महिना अघिको यो ट्वीटले नेपाली टिममा चलेको अन्तरिक द्वन्द छताछुल्ल भएको थियो। शिवाकोटीलाई मिडिया म्यानेजरबाट हटाउनु र सन्दिप र शिवाकोटीको जवाफी ट्वीटले त्यतिबेला नेपाली क्रिकेट वृत्त तातेको थियो। उक्त घटना पनि पारस र सन्दिपको सम्बन्धमा दरार आउनुको कारण हुनसक्ने पनि अनुमान क्रिकेट बृतमा लगाउन थालिएको छ।

अन्तरिक रुपमा टिम भित्र क्रिकेटरहरुको सम्बन्ध र गुटबन्दीको यस अघि पनि नचलेका हैनन्। तर सामाजिक संजालमा देखिने गरि यस्ता कुराहरु पोखिनुले फ्यानहरुमा नकरात्मक सन्देशको प्रवाह भएको छ। नेपाली टिमबारे यस्ता नकरात्मक कुराहरु फैलनुले नेपाली टिम प्रति फ्यानको विश्वास घट्न थालेको छ। ठुलो प्रतियोगिता अघि खेलाडीहरु बीचको नकरात्मक खबर आउनु र सामाजिक संजालमा देखिनुले टिमको प्रदर्शनमा समेत ठुलो प्रभाव पार्नसक्नेछ।

२०७६ आश्विन ९, बिहीबार मा प्रकाशित