टेस्ट रास्ट्र जिम्बाब्वेसंग नेपालको पहिलो खेल, खेल बारे सम्पूर्ण जानकारी एकै ठाउँमा

अक्टोबर १८ देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि सिंगापुरले आयोजना गरेको नेपाल र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाबेसंग खेल्दैछ।

नेपालले जिम्बाब्वेसंग खेल्न लागेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल हो। नेपालले पहिलो र अन्तिपटक टेस्ट राष्ट्रसंग टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल बंगलादेशसंग २०१४ टि-२० विश्वकपमा खेलेको थियो। आयरल्याण्ड र अफगानिस्तान बिरुद्ध नेपालले १/१ पटक टि-२० अन्तर्राष्ट्रिय खेलेको छ जुन बेला दुवै देशले टेस्ट मान्यता पाएका थिएनन्।

नेपाल र जिम्बाब्वे दुवै देशलाई आईसीसीले निलम्बन गरेको छ। जिम्बाब्वेलाई २ महिना अघि र नेपाललाई २०१६ देखि निलम्बन गरेको थियो। तसर्थ भोलिको खेल आईसीसीको दुइ निलम्वित टिमहरु बीच हुनेछ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल ११ औं र जिम्बाब्वे १५ औं स्थानमा रहेको छ। आफ्नो वरियता प्रमाणित गर्न नेपालले जिम्बाब्वेलाई पराजित गर्ने पनि चुनौती रहेको छ।

खेल समय , लाइभ कहाँ हेर्ने , मैदान  : नेपाल र जिम्बाब्वे बीचको खेल नेपाली समय शुक्रबार ( सेप्टेम्बर २७ ) बेलुका नेपाली समय ५:१५ बजे र सिंगापुर समय ७:३० बजे सुरु हुनेछ। इन्डियन एसोसीएसन मैदानमा खेलिने खेल फ्लडलाइटमा खेलिनेछ। खेलको प्रत्यक्ष प्रशारण सिंगापुर क्रिकेट एसोसिएसनको फेसबुक पेजले गर्नेछ भने युट्युबमा पनि खेलको प्रत्यक्ष प्रशारण हुनेछ। खेलको अपडेट विकेटनेपालको फेसबुक पेज र वेबसाइटमा पनि हुनेछ।

सिरिजमा नेपालको खेल तालिका  : असोज १० : नेपाल Vs जिम्बाब्वे  , असोज ११ : नेपाल Vs सिंगापुर , असोज १४ : गते नेपाल Vs जिम्बाब्वे , असोज १५ : गते नेपाल Vs सिंगापुर

विश्वकप छनौटमा गत वर्ष पहिलो पटक नेपाल र जिम्बाब्वे आमने-सामने भएका थिए

नेपाल टिम :  पारस खड्का ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, ललित राजवंशी , पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, सुशन भारि, इशान पाण्डे

जिम्बाब्वे टिम : सिन विलियम्स ( कप्तान ) , रेगिस चकाभा , ब्रायन चरी , रिचमण्ड मुटुम्बामी, नेभिल्ले माडजिभा, टिनोटेण्डा मुटोमबोड्जी, टोनी मुन्योंगा, ड्यानीयल जकिएल, टेण्डी चतरा, रिचार्ड नगराभा, वेलिंगटन मासाकाड्जा, विलियम मशिंगे, पिटर मुर, टिमिसेन मरुमा, क्रेग इर्भिन

जिम्बाब्वेसंग नेपालको इतिहास , यु-१९ टिमको त्यो जित 

जिम्बाब्वे सिनियर टिम बिरुद्ध नेपालले हालसम्म एउटा मात्र खेल खेलेको छ। जिम्बाब्वेमा गत वर्ष आयोजित एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल ११६ रनले पराजित भएको थियो। जिम्बाब्वेले पहिले ब्याटिंग गर्दै ३८१ रनको लक्ष्य दिएको थियो जुन पछ्याउने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो।

उक्त खेलमा जिम्बाब्वेको लागि ब्रेण्डन टेलर ( १०० रन ) र सिकन्दर राजा ( १२३ ) ले शतक बनाएका थिए। दुवै खेलाडी हाल टिममा छैनन्। राजालाई अनुशासनको कारवाही गर्दै टिममा समावेश गरिएको छैन। नेपालको बलिंगमा सोमपाल कामि र बसन्त रेग्मीले २/२ विकेट लिएका थिए। नेपालको ब्याटिंगमा शरद भेसावकरले ५२, आरिफ शेखले ५० रन बनाएका थिए भने पारस खड्काले ४०, ज्ञानेन्द्र मल्लले ३२ तथा रोहित पौडेलले ३० रन बनाएका थिए। बलिंगमा पनि सिकन्दर राजाले सर्वाधिक ३ विकेट लिएका थिए।

विश्वकप छनौटमा नेपाल बिरुद्ध शतक बनाएका सिकन्दर राजा टिममा छैनन्

नेपालले अन्डर-१९ स्तरमा भने जिम्बाब्वेसंग सन् अन्डर-१९ विश्वकपमा ४ पटक प्रतिस्पर्धा गरेको छ। उक्त ४ भेट मध्ये नेपालले पछिलो भेट सन् २००८ को अन्डर-१९ विश्वकपमा नेपाल ९९ रनले विजयी भएको थियो।

मलेसियामा आयोजित उक्त विश्वकपको प्ले-अफ क्वार्टरफाइनलमा नेपालले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वे ५९ रनमै समेटिन पुगेको थियो। नेपालको लागि बलिंगमा पारस खड्का, अमृत भट्टराई र राज श्रेष्ठले समान ३ विकेट लिएका थिए। यस्तै ब्याटिंगमा पुष्प थापाले सर्वाधिक ४० रन बनाएका थिए भने पारस खड्काले २० , राज श्रेष्ठले १९ तथा महेश क्षेत्रीले १६ रन बनाएका थिए।

नेपालले पराजित गरेको त्यसबेलाको जिम्बाबे यु-१९ टिममा रहेका पिटर मुर नेपाल बिरुद्ध खेल्ने टिममा पनि रहेका छन्। उक्त खेलमा मुरलाई अमृत भट्टराईले आउट गरेका थिए। त्यस खेलमा खेलेका पारस खड्का मात्र जिम्बाबे बिरुद्ध उत्रनेछन्।

कस्तो छ जिम्बाब्वे

सन् १९९२ मा टेस्ट राष्ट्रको मान्यता पाएको जिम्बाब्वेसंग विश्व क्रिकेटको लामो अनुभव रहेको छ। २ महिना अघि आईसीसीले राजनीतिक हस्तक्षेप भएको आरोपमा जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको थियो। निलम्बन पछि आईसीसीले बजेट रोक्का गरेतापनि जिम्बाब्वेले अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिएको छ। भर्खरै मात्र जिम्बाब्वेले बंगलादेशमा अफगानिस्तान र बंगलादेश सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज खेलेको थियो।

वर्तमान फर्मको कुरा गर्दा बंगलादेशमा सम्पन्न त्रिकोणात्मक सिरिजमा जिम्बाब्वेले खेलको ४ खेल मध्ये मात्र एउटा खेलमा जित हाँसिल गर्न सकेको थियो। सिरिज अन्तर्गत पहिलो ३ खेलमा पराजित भएपछि उसले अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। त्यस अघि जिम्बाब्वेले जुलाईमा आयरल्याण्ड भ्रमण गरेको थियो जहाँ खेलेको एकदिवसीय र टि-२० सिरिजमा खेलेको कुल ६ खेलमा एउटा खेल मात्रै जित्न सकेको थियो। एकदिवसीय सिरिज आयरल्याण्डले ३-० ले जितेको थियो भने टि-२० सिरिज १-१ को बराबरी भएको थियो। एउटा खेल वर्षाले रद्द भएको थियो।

वर्ष २०१९ मा जिम्बाब्वेले कुल ८ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेको छ जसमा मात्र २ खेल जिम्बाब्वेले जित्न सकेको छ। हारेको प्राय जसो खेल पनि ठुलो अन्तर रहेको छ। यो हिसाबले जिम्बाब्वे क्रिकेट टिमले यो वर्ष राम्रो प्रदर्शन गर्न सकेको छैन।

बंगलादेश त्रिकोणात्मक सिरिजमा टिममा रहेका ह्यामिल्टन मासाकाट्जा, कायल जार्भिस, क्रिस्टोफर मोफु, ब्रेण्डन टेलर, एन्दलुभु, रायन बर्ल जस्ता खेलाडीहरु टिममा रहेका छैनन्। बंगलादेश टुरमा कप्तान मासाकाट्जाले सन्यास लिएपछि उनको स्थानमा सेन विलियम्सले टिमको कप्तानी सम्हाल्नेछन्।

नेपाल र सिंगापुर बिरुद्ध जिम्बाब्वेले आफ्नो सबैभन्दा बलियो खेलाडीहरु उतारेको छैन। सिरिजमा उसले नयाँ खेलाडीहरुलाई मौका दिएको छ। यसैको फाइदा नेपालले उठाउन सक्नेछ।

कस्तो छ नेपाली टोलि 

शरद भेसावकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्लको सट्टा कुशल मल्ल, इशान पाण्डे, सुशन भारि, पवन सर्राफ, सन्दिप जोरा जस्ता कम अनुभवी युवा खेलाडीहरुलाई नेपालले त्रिकोणात्मक सिरिजमा मौका दिएको छ। टिमका नियमित तथा अनुभवी खेलाडीहरु पारस खड्का, सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, सन्दिप लामिछाने, आरिफ शेख, ललित राजबंशी, अविनाश बोहरा जस्ता खेलाडीहरु पनि रहेका छन्।

पछिल्लो समय नियमित प्रशिक्षक उमेश पटवाल नियुक्त भए पछि नेपाली टिमले नियमित अभ्यास गरिरहेको छ भने खेलाडीहरुको फिटनेस तथा बिभिन्न पक्षमा सुधार भएको छ। टि-२० विश्वकप छनौटमा गरेको खराब प्रदर्शनबाट पाठ सिकेको नेपाली टिम पुनः सोहि गल्ति गर्ने पक्षमा रहनेछैन।

जिम्बाब्वेसंगको खेल अघि अभ्यास गर्दै नेपाली टिम

ज्ञानेन्द्र मल्ल अनुपस्थित रहंदा नेपालको ओपनिंग जोडीको रुपमा पारस खड्कासंग पवन सर्राफले मौका पाउने सम्भावना रहेको छ। ओपनरको रुपमै टिममा समावेस गरिएको इशान पाण्डेले पहिलो खेलमा मौका पाउने सम्भावना कम रहेको छ। शरद भेसावकरको अनुपस्थितिमा दिपेन्द्र ऐरि तेश्रो नम्बरमा ब्याटिंग गर्न आउन सक्नेछन्। यस्तै आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी जस्ता ब्याट्सम्यानले मध्यक्रम सम्हाल्नेछन्। बलिङ्गमा सोमपाल कामि, करन केसी र अविनाश बोहराले तिब्र गति बलिंगको जिम्मेवारी सम्हाल्नेछन्। स्पिन तर्फ सन्दिप लामिछाने पछि देब्रे हाते स्पिनरमा ललित राजबंशी र सुशन भारि मध्ये एक जना अन्तिम-११ मा रहनेछन्।

पहिलो खेलमा सन्दिप जोरा, सुशन भारि, इशान पाण्डे र कुशल मल्लले मौका पाउने सम्भावना कम रहेको छ। तल्लो मध्यक्रममा कुशल मल्ल र सन्दिप जोराले मौका पाउने सम्भावना रहन्छ जसको लागि करन केसी या अविनाश बोहरालाई बाहिर राख्नु पर्ने हुन्छ।

२०७६ आश्विन ९, बिहीबार मा प्रकाशित