जिम्बाब्वेसंग हारपछि के भन्छन् पारस,सन्दिप बारे जिम्बाब्वे कप्तान विलियम्सले यसो भने

सिंगापुरमा सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसंग नेपाल ५ विकेटले पराजित भए पछि नेपाली कप्तान पारस खड्काले १०-१५ रन बढी बनाउन सकेको भए खेलको नतिजा अर्को आउन सक्ने बताएका छन्।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको १३३ रन पछ्याउने क्रममा जिम्बाब्वेलाई सुरुवातमा दबाबमा राखे पनि अन्तिममा ५ विकेटले नेपाल पराजित हुन पुग्यो। पहिलो ५ विकेट ६४ रनमै गुमाएको जिम्बाब्वेको लागि छैठौं विकेटको लागि रायन बर्ल र रिचमण्ड मुटुम्बामीले छैठौं विकेटको लागि ६९ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। जिम्बाब्वेले १८.१ ओभरमा ११ बल बाँकी छदै जित हात पार्यो।

“हामीले अझ १०-१५ रन बढी बनाउन सकेको भए धेरै दबाब बढ्ने थियो। सुरुवातमा राम्रो बलिंग गर्दा दबाब बनाउन सक्यौं तर पछिको ओभरमा योजना अनुसार बलिंग गर्न सकेनौं।” कप्तान खड्काले बताए।

खड्काले पिच अनुमान गरे भन्दा बिपरित खेलेको बताए –  “हामीले गत महिना पनि महिले यहाँ खेलेका थियौं तर विकेटले कस्तो खेल्छ अनुमान गर्न सकेनौं। विकेट चिप्लो थियो र ब्याट्सम्यानहरुलाई मुस्किल थियो। केहि ब्याट्सम्यानले टिकेर खेल्दा राम्रो ब्याटिंग गर्न सके।”

नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले सर्वाधिक ४० रन तथा सोमपालले अन्तिममा केहि आक्रामक सट खेल्दै अविजित २५ रन बनाएता पनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन नसक्दा नेपाल राम्रो योगफल बनाउन असफल रहेको थियो। ७ प्रमुख ब्याट्सम्यान लिएर खेलेता पनि नेपाली ब्याट्सम्यानहरु असफल भए।

खेलमा उत्कृस्ट बलिंग गर्दै मात्र १५ रन खर्चेर ३ विकेट लिंदै जिम्बाब्वे ब्याट्सम्यानलाई आच्छुआच्छु पारेका सन्दिपको पारसले तारिफ गरे –

“उनले बारम्बार आफुलाई प्रमाणित गरेका छन् र यो फर्म्याट उनलाई सुहाउदो पनि छ। आशा गर्छु उनले आफ्नो फर्मलाई निरन्तरता दिनेछन् र त्यो जारी भने हामीले राम्रो नतिजा ल्याउन सक्छौं।”

“हाम्रो लागि यो सिक्ने अवसर हो। जति छिटो सिक्न सक्यौं त्यति राम्रो हो टि-२० खेलमा। आज हामीले दबाबमा राख्न सक्यौं र सुरुवाती ५ ब्याट्सम्यानलाई छिट्टै आउट गर्न सक्यौं। अर्को पटक हामीले अझ राम्रो प्रदर्शन गर्नु पर्नेछ।”

“आजको दिन सकियो जसबाट हामीले सकरात्मक कुराहरु लिएका छौँ। भोलि राम्रो प्रदर्शन लिएर फर्कने छौँ।”

Player of the match – Richmond Mutumbami

जित पछि जिम्बाब्वे कप्तान सिन विलियम्सले दबाबमा ब्याटिंग गर्दै खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका रायन बर्ल र रिचमण्ड मुटुम्बामीको तारिफ गरे।

“यो क्रिकेट म्याच हो र यस्तो कुराहरु हुने गर्छ। बर्ल र मुटुम्बामीले अन्तिममा दबाब झेल्दै जित दिलाए। यस्तो कुराहरु टप क्लास खेलाडीले गर्ने गर्छन्।”

विलियम्सले आफ्नो माथिल्लो ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार्दै त्यसमा सुधार गर्नु पर्ने बताए – “हाम्रो टप-५ ब्याट्सम्यानले अझ राम्रो खेल्नु पर्नेछ र खेल जिताउनु पर्नेछ। त्यो पक्षमा हामीले सुधार गर्नुपर्नेछ।  हाम्रो फिल्डिंगमा सुधार भएको छ। हामीले अन्तिममा राम्रो अन्तरले यो खेल जित्न सफल भयौं।”

पारसले झैँ विलियम्सले पनि पिच ब्याट्सम्यानको लागि सहज नभएको स्वीकारे “यो विकेट खेल्नको लागि मुस्किल थियो। नयाँ बलनै निकै स्पिन भइरहेको थियो। सानो मैदान भएकोले अन्तिममा हामीले चान्स लिन सक्यौं।”

आफ्नो पहिलो ३ ब्याट्सम्यानलाई खाता नखोली आउट पारेका सन्दिप लामिछानेको स्पेल बारे सोध्दा विलियम्सले उनको सम्मान गर्ने बताए –

“पक्कै पनि हामी उनको ( सन्दिपको ) सम्मान गर्छौं। हामी यहाँ हाम्रो तरिकाले क्रिकेट खेल्न आएका छौँ र कुनै पनि टिमलाई कमजोर लिनेछैनौँ। हामीसंग हाम्रो सुधार गर्नुपर्ने कुराहरु छ र हामि त्यसैमा केन्द्रित हुने छौँ।”

नेपालले इतिहासमै पहिलो पटक जिम्बाब्वेसंग टि-२० अन्तर्राष्ट्रिय खेलेको हो। यस अघि नेपालले पहिलो र अन्तिम पटक टेस्ट रास्ट्रसंग २०१४ टि-२० विश्वकपमा बंगलादेशसंग खेलेको थियो।

जिम्बाब्वेसंगको खेलमा नेपालले युवा खेलाडी इशान पाण्डे र कुशल मल्ललाई मौका दिएको थियो। दुवै खेलाडीले नेपालको लागि र टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेता पनि राम्रो प्रदर्शन भने गर्न सकेनन्।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरसंग शनिवार खेल्नेछ। खेल नेपाली समय ५:१५ बजे बेलुका ( नेपाली समय ) सुरु हुनेछ। सिरिजमा सहभागी ३ वटा टिमले एक-अर्का बिरुद्ध २-२ वटा खेल खेल्नेछ। अक्टोबर दोश्रो साता युएईमा सुरु हुने टि-२० विश्वकप छनौटको लागि सिंगापुरले यो सिरिजको आयोजना गरेको हो .

२०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित