इन्टरनेसनल सिरिज ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

नेपालका युवा स्टार प्रिन्स दाहाल अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुक्रबार भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नविन श्रेष्ठलाई १८–२१, २२–२०, २१–१५ ले हराए ।

पुरुष एकलकै अर्को खेलमा भारतका स्व्र्णराज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए । अर्को खेलमा मलेसियाका सेङ जोय योहले बंगलादेशका मोहमद सलमान खानलाई २१–१०, २१–११ तथा भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका दिपेश धामीलई २१–१३, २१–१२ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरे ।

महिला एकल : भारतकी माल्विका सेमिफाइनलमा भारतकी माल्विका बानसोट  प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा पूवेश गरेकी छन् । राखेप कभर्डहलमा सुक्रबार भएको खेलमा माल्विकाले जापानकी चिया सिगेयामालाई २१–१८, १३–२१, २१–१३ को सेटमा हराईन् ।

अन्य क्वार्टरफाइनल खेलमा चाइनेज ताइपेईकी यु चेहले नेपालकी सिमा राजवंशीलाई २१–७, २१–९, भारतकी गायत्री गोपीचन्द पुलेलाले भारतकै सामिया इमाद फारोक्वीलाई २१–१९, २१–६ तथा जापानकी युरी नाकामुराले नेपालकी सिता राईलाई २१–६, २१–९ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

मिक्स डबल्स : रत्नजीत र नङ्शलको जोडी विजयी :  नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडी मिक्स डबल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा सुक्रबार भएको खेलमा रत्न र नङ्शलको जोडीले भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीलाई २१–१०, २१–१३ को सेटमा हराए । रत्न र नङ्शल दिदीभाई हुन् ।

अर्को खेलमा भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीलाई २२–२०, २१–१६, थाइल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीलाई २१–११, २१–१४ तथा भारतका सौरभ शर्मा र अनुस्का पारिखको जोडीले नेपालका दिपेश धामी र सोभा गौचनको जोडीलाई २१–११, २१–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

महिला डबल्स : पूजा र नङ्शल सेमिफाइनलमा : नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङ महिला डबल्स स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा सुक्रबार भएको खेलमा पुजा र नङ्शलको जोडीले नेपालकै सफी खत्री र लोकथमा राईको जोडीलई २१–१०, २१–११ ले हराए । अर्को खेलमा नेपालका जेसिका गुरुङ र अनुमाया राईको जोडीले नेपालकै सोभा गौचन र अमिता गिरीको जोडीलई २१–१८, २१–१३ को सेटमा पाखा लगाए । अर्को खेलमा नेपालकी सिता राई र सम्झना शर्माको जोडीले तारा आल र मनिषा खड्काको जोडीसँग वाकओभर पाए ।

पुरुष डबल्स : दिपेश र रत्नको जोडी सेमिफाइनलमा : नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडी पुरुष डबल्स स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा सुक्रबार भएको खेलमा दिपेश र रत्नको जोडीले नेपालकै इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई२१–१८, २१–७ को सेटमा हराए । अर्को खेलमा मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीले भारतका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीलाई २१–१७, २१–१७ नेपालका विजित थापामगर र विकास श्रेष्ठको जोडीले भारतका हिमान्सु मित्तल र शुभम् शर्माको जोडीलाई १६–२१, २१–१५, २१–११ तथा भारतका रोहन कपुर र सोरभ शर्माको जोडीले नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीलाई २३–२१, २१–४ को सेटमा हराउँदै अन्तिम चारमा पुग्न सफल भए ।

प्रतियोगितामा सबै विधाको सेमिफाइनल खेल शनिबार हुनेछ ।

२०७६ आश्विन ११, शनिबार मा प्रकाशित