जिम्बाब्वे बिरुद्ध सिंगापुरको विशाल योगफल

सिंगापुरले आयोजना गरको त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा आयोजक सिंगापुर र जिम्बाब्वेले प्रतिस्पर्धा गरिरहेका छन्। सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ५ विकेटले तथा दोश्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो।

वर्षाको कारण ढिला सुरु भएकाले १८ ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै सिंगापुरले ९ विकेट गुमाएर १८१ रनको विशाल योगफल तयार गरेको छ।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सिंगापुरले बनाएको यो तेश्रो ठुलो योगफल हो। नेपाल बिरुद्ध यसै वर्ष टि-२० विश्वकप छनौट प्रतियोगितामा सिंगापुरले सबैभन्दा धेरै १९१ रनको योगफल बनाएको थियो।

सिंगापुरको लागि कप्तान टिम डेभिड र मनप्रित सिंहले समान ४१ रन बनाए। डेभिडले २४ बलमा ४ छक्का र २ चौका तथा सिंहले २३ बलमा १ छक्का र ४ चौका प्रहार गरे। यस्तै ओपनर रोहन रंगराजनले २२ बलमा ८ चौका मदतले ३९ रन बनाए। पहिलो विकेटको लागि रंगराजन र सुरेन्द्रन चन्द्रमोहन बीच ६२ रनको साझेदारी भएको थियो। चन्द्रमोहनले २३ रन बनाए।

जिम्बाब्वेको बलिंगमा रायन बर्लले सर्वाधिक ३ विकेट लिए। यस्तै रिचर्ड नगर्भाले २ तथा नेभिल्ले माडजिभा र सिङ विलियम्सले १/१ विकेट लिए।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल सोमबार बेलुका ५:१५ बजे जिम्बाब्वे बिरुद्ध खेल्नेछ। नेपालले अन्तिम खेल मंगलबार सिंगापुरसंग खेल्नेछ।

२०७६ आश्विन १२, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment