इन्जुरी समयको गोलसँगै भारत यु-१८ साफ च्याम्पियन

रबि बहादुर रानाले खेलको इन्जुरी समयमा गोल गरेपछि भारतले काठमाण्डौमा सम्पन्न साफ यु-१८ प्रतियोगिताको उपाधी जितेको छ। उसले फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्यो।

सशस्त्र प्रहरी बलको हलचोक मैदानमा आइतबार भएको खेलमा भारतले विक्रम सिंहको गोलसँगै २ मिनेटमा नै अग्रता लिएको थियो। २३ औं मिनेटमा विक्रमलाई बिपक्षी टिमका खेलाडीले मैदानमा लड़ाएपछी भएको भनाभनले ठुलो रुप लियो। भारत का गुर्किरत सिंह र बंगलादेशका मोहमद रिदोयले रेडकार्ड पाए।

बंगलादेशका कप्तान यासिन अराफातले ४० औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुग्यो। तर खुसि मनाउनेक्रममा जर्सी टाउकोभन्दा माथि लाग्दै फुकाल्ने प्रयास गरेपछि दोश्रो पहेंलो कार्डसहित मैदानबाट बाहिरीए।

त्यसपछि दुवै टिमबाट आक्रमणका प्रयास भएपनि ९० मिनेटसम्म कुनै गोल हुन सकेन। तर इन्जुरी समयको अन्तिम मिनेटमा रबिको प्रहार गोलमा परिणत भएपछी भारत च्याम्पियन बनेको हो।

यससँगै भारतले पहिलोपल्ट प्रतियोगिताको उपाधी जित्यो। यसअघि भएका दुई संस्करणमा नेपाल च्याम्पियन बनेको थियो।

फाइनल खेलका अन्य तस्बिरहरु:

 

२०७६ आश्विन १३, सोमबार मा प्रकाशित