सिपिएल टि-२०: सन्दिपको टिम बार्बेडोस प्लेअफमा

सेन्ट लुसिया जुक्सलाई पराजित गर्दै बार्बेडोस ट्राइडेन्ट्स करेबियन प्रिमियर लिगको प्लेअफ प्रवेश गरेको छ। बार्बेडोसले आइतबार राति सम्पन्न खेल २४ रनले जित्यो।

उसले लिग चरणमा ९ खेल खेल्दै १ खेल बाँकी रहँदा ४ जित र ५ हारबाट ८ अङ्क बटुलेको छ। यससँगै सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागिसकेको छ।

सेन्ट लुसिया जुक्सको १० खेलबाट मात्र ८ अङ्क हुदा जमैका तल्ल्वाहको ९ खेलबाट ४ अङ्कमात्र भएपछी दुवै टिमको अर्को चरण सम्भावना सकिएको हो। खेलेको ७ खेलमा शतप्रतिशत जित निकालेको गायना अमेजन वारियर्स शीर्ष स्थानमा छ। १० खेलबाट १० अङ्कसहित सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स दोश्रो, ७ खेलबाट ९ अङ्कसहित त्रिनबागो नाइट राइडर्स तेस्रो स्थानमा छन।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बार्बेडोसले १४१/६ रन बनायो। उसका जोनसन चार्ल्सले ४७ रन, जस्टिन ग्रेभ्सले २७ रन र साकिब अल हसनले २२ रन बनाए। सेन्ट लुसियाका बलर हार्डुस भिल्जन र किश्मर सान्टोकीले समान २/२ विकेट लिए।

जवाफमा सेन्ट लुसिया जुक्सले १८.४ ओभरमा ११७ रन बनाउदा सबै विकेट गुमायो। उसका कोलिन इन्ग्रामले सर्वाधिक २५ रन, हार्डुस भिल्जनले २२ रन, कोलिन डी ग्राण्डहोमले २१ रन तथा रखिम कर्नवालले  बनाए।

प्लेयर अफ द म्याच घोषित बार्बेडोसका लेग स्पिनर हेडन वाल्सले ४ विकेट लिए। उनले ३.४ ओभरमा २६ रन खर्चेर लुसियाको तल्लोक्रम ध्वस्त पारे। त्यस्तै ह्यारी गुर्नेले १७ रन खर्चेर ३ विकेट लिए।

बार्बेडोसको लागि सुरुवाती ६ खेल खेल्दै नेपाली लेग स्पिनर सन्दिप लामिछाने नेपाली राष्ट्रिय टिमको सिंगापुर र ओमान भ्रमणको लागि फर्किएका थिए।

२०७६ आश्विन १३, सोमबार मा प्रकाशित