यस्ता छन् नव निर्वाचित क्यान अध्यक्ष चन्दका प्रतिबद्धता

शनिवार सम्पन्न क्रिकेट संघको केन्द्रिय साधारणसभाबाट नवनिर्वाचित क्यान अध्यक्ष चतुर बहादुर चन्दले नेपाल क्रिकेट संघको निलम्बन आइसीसीले फुकुवा गर्ने विश्यास व्यक्त गरेका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा चन्दले नेपाली क्रिकेटलाई अघि बढाउन आफ्ना योजना र प्रतिबद्धताहरु व्यक्त गरे। कार्यक्रमको दौरान अध्यक्ष चन्दद्वारा प्रस्तुत प्रतिबद्धताहरुको सम्पादित अंश यहाँ बुँदागत रुपमा प्रस्तुत गरेका छौँ।

आइसीसीको रोडम्यापमा काम गरेकाले प्रतिबन्ध फुकुवा गर्छ 

मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ। नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसिसीलाई राम्रोसँग थाहा छ। आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ। निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ । अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं।

कोटा सिस्टमले गर्दा योग्य खेलाडीहरुले अवसर नपाएको  

नेपाल क्रिकेटको प्रमुख आधारशिला भनेको घरेलु क्रिकेट हो। घरेलु क्रिकेट ४-५ वर्ष देखि धरासायी छ। जिल्ला र क्षेत्रीय लिगहरु प्रादेशिक संरचनामा गैसकेका छन्। उमेर समुहको क्रिकेट प्रतियोगिता जुन छनौट प्रतियोगिता हामीले संचालन गर्थेउ त्यो बन्द गरिएको छ। अहिले छनौट गर्ने कार्यविधि अनौठो किसिमको छ। जिल्लालाई कोटा दिने र यति जना आएर सहभागी हुने कोटा सिस्टम आएको छ। यस्तो कोटा सिस्टमले गर्दा योग्य खेलाडीहरु , प्रतिभावान खेलाडीहरुले अवसर नपाएको पनि हुन सक्छ। क्रिकेट खेलाडीहरुको क्रिकेट खेलाएर मात्र खेलाडीहरुको स्तर निर्धारण हुन्छ।

घरेलु क्रिकेट पुरानै लयमा फर्काउने चुनौती 

सबै तह, जुनियर देखि, यु-१६ ,यु-१९ , महिला र सिनियर लेभलको प्रतियोगिताको लागि अझै ससक्त बनाउने हो। टि-२० र एकदिवसीय प्रतियोगितालाई ससक्त गराउने हो। ५-६ वर्ष अघि ३-४ वटा सिनियर प्रतियोगिता आयोजना गर्ने अवस्था थियो। त्यो बेला स्थति सहज थियो, प्रायोजकहरु थिए।  क्रिकेट संघ विवाद पछि प्रायोजकहरु पनि पनि भाग्न थाले। त्यो कुरालाई पुरानै तरिकाले अघि बढाउन प्रतिबद्धता सहित आएका छौँ। तपाईहरुको अपेक्षा धेरै छ जुन पुरा गर्न हाम्रो लागि चुनौती हो।

नेपाल क्रिकेट संघको नव निर्वाचित १७ सदस्यीय कार्यसमिति

एकदिवसीय मान्यताको सदुपयोग गर्न भारतको सहयोग लिने

आईसीसीको साथ पाएर हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायौं। मान्यता पाएको १ वर्ष वितिसकेको छ। अब बाँकी ३ वर्ष हामीले कसरि सदुपयोग गर्ने, कसरि लबिंगको आधारमा र आईसीसीको साथमा बढी भन्दा बढी माथिल्लो स्तर भएका टेस्ट वा एकदिवसीय मान्यता पाएका टिमहरुसंग म्याच, सिरिज खेल्ने अवसर सिर्जना गरेर नेपाली खेलाडी र टिमको स्तर बढाउने प्रयास गर्नु पर्छ।

एकदिवसीय मान्यतालाई कायम राख्दै विश्वकप छनौटको लागि छिमेकि मित्र राष्ट्र भारतको बिसीसीआईसंग सर-सल्लाह र समन्वय गरेर यसको बढी भन्दा बढी उपयोग गर्न सकिन्छ। त्यहाँको स्टेट लेभलको टिम वा अन्य ‘ए’ टिमहरुसंग वान-डे खेल्न पायौं भने नपालको स्तर बढाउन सकिन्छ।

राजनीतिबाट उठेर सबैको साझा क्यान हुनेछ 

जिल्ला देखि, केन्द्रसम्म क्यानको निर्वाचन निष्पक्ष तरिकाले, लोकतान्त्रिक पद्धतिले भएको छ। क्रिकेटमा आउदै गर्दा राजनीतिक व्यक्तिहरु, राजनितिक विचारधारा भएका व्यक्तिहरु अवस्य रुपमा नेतृत्वमा आउने गर्छन्। तर संघ भित्र छिरे पछि संघमा काम गर्दै गर्दा राजनीतिक झल्को कहीं कतै बाट देखिन हुन्न। मेरो पनि राजनीतिक आबद्धता होला तर मेरो प्रतिबद्धता के हो भने संघ राजनीतिक देख्नु हुने छैन। राजनीतिबाट माथि उठेर सबैको साझा क्रिकेट संघ हुनेछ।

नेपाल प्रिमियर लिग गराउने

फ़्रेन्चाइज् टि-२० लिगहरु नेपाल क्रिकेट संघ र आईसीसीलाई पैसा बुझाएर स्वीकृत दिएको अवस्था थियो। क्यानले प्रतियोगिता गराउन नसक्ने अवस्थामा घरेलु लिगहरु किन रोक्ने। तर त्यो कानुनसम्मत हुनुपर्छ त्यसमा कसैको स्वार्थ कति जोडिएको छ त्यो चै हामि हेर्छौ। उदाहरणको लागि, मानौं नेपाल प्रिमियर लिग गराउने हाम्रो चाहना छ र एककिसिमको सहमतिनै भैसकेको छ। त्यसको मालिक क्यानको अध्यक्ष चतुर बहादुर चन्द हुन पाउने कि नपाउने ? त्यस्तो कुरा जोडिएको छ भने पछि क्रिकेट संघमा आबद्धहरुले जोडिन पाउने नपाउने जस्ता कुरामा पुनर्विचार गर्नुपर्छ। अन्य देशमा पनि लिग भैरहेका छ त्यसमा कसले टिम किन्न पाउने कसले नपाउने निश्चित क्राइटेरिया हुन्छ।

एनपीएलको समानान्तर अन्य लिग हुनेछैन 

नेपालको कानुन, राखेपको र नेपाल क्रिकेट संघको बिधान सबैलाई राखेर बिना पुर्वाग्रह, प्रक्रिया मिलेको छैन भने मिलाएर लिगहरु निरन्तर हुन्छ। यो सबै लिगहरु एनपीएल सुरु भएपछि एनपीएलको समानान्तर लिग चै कोहि हुँदैन। एउटा एनपीएल क्यानले आयोजना गर्ने लिग सबैभन्दा ठुलो र नेपाल क्रिकेटको खेलाडीहरुको आर्थिक व्यवस्थापन र क्रिकेट विकसको लागि कोशेढुंगा होस् भन्ने हाम्रो परिकल्पना छ। त्यसको प्यारेरल चै यो लिगहरु हुने छैन। उनीहरुलाई त्यही स्तरको मान्यता दिने भन्ने हाम्रो सोचाइ छ। यो कुरा मैले भन्दै गर्दा यो छलफलका मध्यमबाट मात्रै निर्णय हुन्छ ,अध्यक्षले बोलेको भन्दैमा हुँदैन। क्रिकेटलाई अनुशाशित ढंगले बढाउने छौ।

क्यान केन्द्रिय निर्वाचनमा शनिबार मतदान गर्ने क्रममा चन्द

खेलाडीहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट

खेलाडीसंग सम्बन्ध कायम गर्नेपर्छ त्यसको अर्थ अनुशाशन हिन काम कसैले गर्नु हुँदैन। अनुशाशनलाई पहिलो प्राथमिकता दिईन्छ। सबै कुरा सुरु भएपछि खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्ट गर्छौं। २०-२५ हैन झन्डै नेपाली २ वटा टिम अट्ने गरि ३६-४० जना जतिलाई सेन्ट्रल कन्ट्रयाक्ट दिने छौँ। प्यारेलली २ वटा टिम बनाउने हाम्रो लक्ष्य छ।

बेन्च बलियो बनाउन नेपालको दोश्रो टिम बनाउने 

एउटा टिम नेपालको सिनियर टिम हुन्छ र त्यसको स्ट्रेन्थ र बेन्चको रुपमा यु-२३, यु-२५ या त्यस्तै स्ट्याण्डबाइ टिम बनाउने छौँ। त्यसको लागि छुट्टै कार्यक्रम, स्पोन्सर, छुट्टै कोच, छुट्टै एक्सपोजर टुरहरु। नेपालको टिमको प्रदर्शन कमजोर भयो, इन्जुरी भयो, कुनै खेलाडी रिप्लेस गर्नु पर्यो भने तुरुन्तै ल्याउन सकिन्छ। अहिले जस्तो समस्या आउदैन, २-४ जना बाहिर जादा कहाँबाट खेलाडी खोज्ने हो, नामका भरमा  यु-१९ टिममै खेलेको आधारमा खेलाडी राख्दा खेल कमजोर हुनसक्छ। प्रदेश लिग, वान-डे नभएका कारणले खेलाडीहरु संख्या घटेको छ। धेरै दिन देखि उही खेलाडीहरु छन् नेपाली टिममा। राम्रो गर्ने खेलाडीहरुले मौका पाउनै पर्छ। राम्रो खेलाडीहरुले अवसरबाट बन्चित हुन हुँदैन।

खेलाडी छनौटमा मनोमानी अन्त्य गर्ने 

विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन। मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौं।

खेल मैदान निर्माण गर्न पहल गर्ने 

चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दछु। प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेल मैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानको लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित् र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ।

आइसीसीको सर्तमा काम गर्ने

आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ। हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं। सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशीक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउनेछ।

( फिचर फोटो – रिपोर्टर्स क्लब )

२०७६ आश्विन १३, सोमबार मा प्रकाशित