आजम र शिनवारी चम्किदा पाकिस्तान विजयी

श्रीलंकाको पाकिस्तान भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा घरेलु टिमले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ।

कराँचीमा सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६.५ ओभरमा २३८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। यस अघि पहिलो एकदिवसीय वर्षाको कारण रद्द भएको थियो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले अत्यन्त खराब सुरुवात गरेको थियो। १०.१ ओभरमा २५ रनमै ५ विकेट गुमाएको अवस्थाबाट छैठौं विकेटको लागि सेहान जयसूर्या र दासुन शनाकाले १७७ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। यो साझेदारी छैठौं विकेटको लागि अहिलेसम्मकै श्रीलंकाको ठुलो साझेदारी हो।

४१ औं ओभरमा जयसूर्यालाई उस्मान शिन्वारीले विकेटकिपरबाट क्याच आउट गराएपछि पाकिस्तान खेलमा फर्किएको थियो। जयसूर्या पहिलो शतक बनाउनबाट ४ रनले चुक्न पुगे जुन क्रममा १०९ बलमा ७ चौका र १ छक्का मदतले ९६ रन बनाए। लगत्तै ओभरमा ६८ रन बनाएका शनाकालाई शदाब खानले क्याच आउट गराएपछि पाकिस्तान खेलमा हावी भएको थियो। उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे।वानिन्दु हसरंगाले ३० रन बनाएता पनि अन्य ब्याट्सम्यानहरुले त्यसपछि योगदान दिन सकेनन्।

पाकिस्तानको बलिंगमा देब्रे हाते तिब्र गति बलर उस्मान शिनवारीले ५ विकेट लिए। करियरमै पहिलो पटक ५ विकेट लिने क्रममा उनले १० ओभरमा १ मेडन ओभर गर्दै ५१ रन खर्चिए। यस्तै शदाब खानले २ , मोहम्मद आमिर, उस्मान इमाद वासिम र वाहब रियाजले समान १/१ विकेट लिए।

बाबर आजमको शतक 

टस जितेर ब्याटिंग गरे क्रममा पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो।

पाकिस्तानको लागि बाबर आजमले करियरको ११ औं शतक बनाउने क्रममा १०५ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए। उनले तेश्रो विकेटको लागि हरिस सोहेलसंग १११ रनको साझेदारी गरे। सोहेलले ४० रन बनाए।

यस अघि पाकिस्तान ओपनर फखार जमान र इमाम उल हकले ७३ रनको ओपनिंग साझेदारी गरेका थिए। जमानले ५४ तथा हकले ३१ रन बनाए। इफ्तिकार एहमदले अविजित ३२ रन बनाए। श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट तथा इसुरु उडाना र लाहिरु कुमाराले समान १/१ विकेट लिए।

५ विकेट लिएका शिनवारी खेलको प्लेयर अफ द म्याच चुनिए।

सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बुधबार कराँचीमा हुनेछ। एकदिवसीय सिरिज पछि ३ वटा टि-२० को सिरिज अक्टोबर ५ देखि लाहोरमा सुरु हुनेछ।

२०७६ आश्विन १४, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment