१० बर्षपछी फर्केको श्रीलंकामाथि पाकिस्तानको सिरिज जित

पाकिस्तान र श्रीलंकाबीच आयोजित तेस्रो एकदिवसीयमा पाकिस्तानले श्रीलंकालाई १० बल अगावै ५ विकेटले पराजित गर्यो। यससँगै ३ खेलको सिरिजमा पाकिस्तानले २-० को जित निकालेको छ। पहिलो खेल बर्षाले रद्द भएको थियो।

४१.१ ओभरमा सरफराज अहमद आउट हुँदा पाकिस्तानलाई जितको लागि ५३ बलमा ५३ रन आवश्यक थियो। त्यसपछिको ३ ओभरमा मात्र ८ रन बन्यो। जितको लागि पाकिस्तानलाई ३५ बलमा ४५ रन आवश्यक रह्यो।

त्यसपछि ४६ औं ओभरमा ह्यारिस सोहेलले १ छक्का र इफ्तिखर अहमदले २ चौका हान्दै १८ रन बटुलेपछी पाकिस्तान सहज जिततर्फ अगाडी बढेको थियो। सोहेल ५६ रन (५० बल) बनाएर ४८ औं ओभरमा आउट भए।

४९ औं ओभरको पहिलो र दोश्रो बलमा लगातार छक्का र चौका प्रहार गर्दै इफ्तिखर अहमदले खेल जिताए। उनि २८ रनमा अविजित रहे।

यसअघि कराचीमा आयोजित खेलमा फखर जमा र अबिद अलिले पहिलो विकेटको लागि १२३ रनको साझेदारी गरेका थिए। ‘प्लेयर अफ द म्याच’ अबिद अलि ७४ रनमा आउट भएपछी जमाले बाबर अजामसँग ५८ रनको साझेदारी गरे। जमाले ७६ रन बनाउँदा अजामले ३१ रन बनाए। बलिंगतर्फ नुवान प्रदिपले २ विकेट लिए।

श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २९७ रन बनाएको थियो। उसका लागि करियरको दोश्रो शतक बनाएका धनुश्का गुनाथिलकाले १३४ बलमा १३३ रन बनाए जसमा १६ चौका र १ छक्का सामेल थियो।

गुनाथिलकाले लाहिरु थिरिमानेसँग दोश्रो विकेटको लागि ८८ रन, एन्जेलो पारेरासँग तेस्रो विकेटको लागि ५० रन र चौथो विकेटको लागि मिनोद भानुकासँग ७४ रनको साझेदारी गरे। कप्तान थिरिमानेले ३६, एन्जेलो पारेराले मात्र १३ रन र मिनोद भानुकाले ३६ रन बनाए।

त्यस्तै अन्तिम विकेटको रुपमा आउट हुनुपूर्व सातौँ नम्बरमा आएका दशुन शनुकाले २४ बलमा ५ चौका र २ छक्का सहित ४३ रन बनाएका थिए। बलिंगमा पाकिस्तानका मोहम्मद आमिरले ५० रन खर्चेर ३ विकेट लिए।

सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टिम चढेको बसमाथि आतंककारी हमला भएको थियो। त्यसपछि कुनै टिमले पाकिस्तानको भ्रमण गर्न मानिरहेका थिएनन्। त्यसपछि सन् २०१३ मा अफगानीस्तानले भ्रमण गर्यो भने सन् २०१५ मा जिम्बाबेले २ टि-२० र ३ एकदिवसीयको लागि भ्रमण गर्यो। तर मुख्य टिमहरु अझै पनि जान मानिरहेका थिएनन्। यसैका बीच पुनः श्रीलंकाली टिम १० बर्षपछी पाकिस्तान भ्रमण गर्यो। उसले अब एकदिवसीय पछी ३ टि-२० खेल खेल्नेछ।

२०७६ आश्विन १६, बिहीबार मा प्रकाशित