सन्दिप र करनले घातक बलिंग गर्दा नेदरल्याण्ड १३३ मै सिमित

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा नेदरल्याण्डसंग खेलीरहेको छ। पहिलो खेलमा नेपालले हंगकंगलाई ४ विकेटले पराजित गरेको थियो। नेदरल्याण्डले पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटको हार बेहोरेको थियो।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग रोजेको नेदरल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाउदै नेपाललाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सन्दिप लामिछानेले इनिंगको दोश्रो ओभरमा टोबीएस भीसेको विकेट लिंदै सुरुवात सफलता दिलाएता पनि नेदरल्याण्डले त्यसपछि पावरप्लेमा आक्रामक सटहरु खेल्यो। दोश्रो विकेटको लागि म्याक्स ओ’डोड र एन्टोनिएस स्टलले मात्र ३.३ ओभरमा ४१ रनको साझेदारी गरे। छैठौं ओभरमा करन केसीले स्टलको विकेट दिलाए। १४ बलमा १ चौका र २ छक्का मदतले स्टलले २१ रन बनाए।

सन्दिपले व्यक्तिगत उत्कृस्ट बलिंग गरे

त्यसपछि पनि ओपनर ओ’डोडले एक किनार सम्हालीरहे र तेश्रो विकेटको लागि कोलिन एंकरम्यानसंग ४७ रनको साझेदारी गरे। एंकरम्यानलाई १३ औं ओभरमा ललित राजबंशीले बोल्ड गरे जसले २० बलमा १ चौका र २ छक्का मदतले २९ रन बनाए। लगत्तै ओ’डोड १५ औं ओभरमा ४३ रन बनाएर आउट भए। ४४ बलमा ४ चौका मदतले ४३ रन बनाएका उनलाई सन्दिपले दोश्रो शिकार बनाए।

त्यसपछि नेदरल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। कप्तान पिटर सिलर ४, भान डर मर्वे  ७, शेन स्नेटर ०, क्लासें ४ तथा भान मिकीरन मात्र ४ रन बनाएर आउट भए।

एक समय ९७/३ को स्थितिबाट नेदरल्याण्डले बाँकी ३६ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले समान ४/४ विकेट लिए। सदिपले ४ ओभरमा मात्र २० रन खर्चिए भने करनले ३.३ ओभरमा १७ रन खर्चिए। ललित राजबंशीले १ विकेट लिए भने एउटा विकेट रन आउटको रुपमा नेपालले प्राप्त गर्यो।

सन्दिप र करनको हालसम्मकै उत्कृस्ट स्पेल 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप लामिछानेले पहिलो पटक ४ विकेट लिंदै व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गरे। सन्दिपको यस अघि उत्कृस्ट स्पेल जिम्बाब्वे बिरुद्ध ४-०-१५-३ रहेको थियो। करनले अघिलो खेलमा हंगकंग बिरुद्ध ४ विकेट लिन ३६ रन खर्चिएका थिए। आज ३.३ ओभरमा मात्र १७ रन खर्चदै ४ विकेट लिएर उनले आफ्नो व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गरेका हुन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा उत्कृस्ट स्पेल नेपाली बलर मध्ये बसन्त रेग्मीको रहेको छ जसले हंगकंग बिरुद्ध २०१५ मा ४ विकेट लिन ४ ओभरमा मात्र १६ रन खर्चिएका थिए। हालसम्म नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिन सकेका छैनन्। बसन्त रेग्मी, सन्दिप लामिछाने, करन केसी र अविनाश बोहराले मात्र एकै इनिंगमा ४ विकेट लिएका छन्।

२ खेलमा ४/४ विकेट लिएका करनको टि-२० अन्तर्राष्ट्रिय विकेट संख्या २९ पुगेको छ। उनि सबैभन्दा धेरै टि-२० अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। यस्तै ४ विकेट लिएसंगै सन्दिप यो सुचीमा दोश्रो स्थानमा पुगेका छन् जसले कुल २५ विकेट लिएका छन्। सोमपाल कामि र बसन्त रेग्मीको पनि २५ विकेट रहेको छ।

२०७६ आश्विन २०, सोमबार मा प्रकाशित