ठुलो विश्वकिर्तिमान नजिक करन र सन्दिप, नेदरल्याण्ड बिरुद्ध जितमा बने यस्ता रेकर्ड

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्यो। खेलमा नेपालको लागि करन केसीले उत्कृस्ट अल-राउण्ड प्रदर्शन गर्दै रोमान्चक जित दिलाए। उत्कृस्ट इनिंग खेल्ने क्रममा करन केसीले थुप्रै किर्तिमान आफ्नो नाम गरेका छन् भने अन्य ठुला रेकर्ड पनि यो क्रममा बनेका छन् –

१. एकै सिरिजमा सर्वाधिक विकेट 

जारी सिरिजको हंगकंग र नेदरल्याण्ड बिरुद्ध खेलमा कुल ८ विकेट लिएका करन केसी एकै टि-२० अन्तर्राष्ट्रिय सिरिजमा सबैभन्दा धेरै विकेट लिने सन्दिप लामिछानेको किर्तिमान तोडेका छन्। सन्दिपले यसै वर्ष टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा कुल ७ विकेट लिंदै यो किर्तिमान बनाएका थिए जसलाई करनले जारि सिरिजमा २ खेल बाँकी छदै तोडेका हुन्।

२. दुइ पटक ४ विकेट लिने करन एक्लो नेपाली बलर 

टि-२० अन्तर्राष्ट्रियमा २ पटक ४ विकेट लिने करन केसी पहिलो नेपाली बलर बनेका छन्। उनले हंगकंगसंग अघिल्लो खेलमा पनि ४ विकेट लिएका थिए। यस अघि बसन्त रेग्मी, सन्दिप लामिछाने र अविनाश बोहरा एक पटक ४ विकेट लिन सकेका छन्।

३. तेश्रो उत्कृस्ट स्ट्राइक रेट 

नेदरल्याण्ड बिरुद्ध १४ बलमा ३ छक्का र १ चौका बनाएका करनले २२१.४२ को स्ट्राइक रेटले रन बनाए। यो कुनै पनि नेपाली ब्याट्सम्यानको टि-२० अन्तर्राष्ट्रियमा तेश्रो उत्कृस्ट स्ट्राइक रेट हो। सन्दिप जोराले यसरी वर्ष युएई बिरुद्ध ११ बलमा २५४.५४ को स्ट्राइक रेटले २८ रन बनाएका थिए। दोश्रो उत्कृस्ट ज्ञानेन्द्र मल्लले मलेसिया बिरुद्ध यसै वर्ष २१ बलमा ५१ रन बनाउदा २४२.८५ को स्ट्राइक रेटले रन बनाएका थिए।

४. दोश्रो उत्कृस्ट बलिंग फिगर

करनले नेदरल्याण्डको ४ विकेट लिन ३.३ ओभरमा मात्र १७ रन खर्चिए। यो नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमै दोश्रो उत्कृस्ट बलिंग फिगर हो। बसन्त रेग्मीले २०१५ मा हंगकंग बिरुद्ध १६ रन खर्चेर ४ विकेट लिएका थिए। करन बसन्त रेग्मीको यो रेकर्ड तोड्न थोरैले चुक्न पुगे। अघिल्लो खेलमा आफ्नै उत्कृस्ट स्पेल ( ४-०-३६-४ ) को रेकर्ड भने करनले तोडे।

५. नेपालको सबैभन्दा धेरै विकेट लिने बलर 

टि-२० अन्तर्राष्ट्रियमा करन केसी कुल २९ विकेट सहित सबैभन्दा धेरै विकेट लिने बलर कायमै रहेका छन्। उनले २० खेलमा यति विकेट लिएका हुन्। समान २५ विकेट लिंदै सन्दिप लामिछाने , बसन्त रेग्मी र सोमपाल कामि यो सुचीमा दोश्रो स्थानमा रहेका छन्। अविनाश बोहराको १४ विकेट रहेको छ।

६. सबैभन्दा धेरै ओभर बलिंग

नेपालको लागि २० वटा टि-२० अन्तर्राष्ट्रिय खेल्दा करन केसीले कुल ६३.४ ओभर बलिंग गरेका छन्। उनले बसन्त रेग्मीको ६२.१ ओभर बलिंगको रेकर्ड तोड्दै नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा दोश्रो धेरै ओभर बलिंग गर्ने बलर बनेका छन्। नेपालको लागि सबैभन्दा धेरै ओभर बलिंग गर्ने बलर सोमपाल कामि हुन् जसले २६ खेलमा ८५ ओभर बलिंग गरेका छन्। सन्दिप लामिछानेले १५ खेलमा ५५ ओभर तथा पारस खड्काले २५ खेलमा ४० ओभर बलिंग गरेका छन्।

७. सन्दिप २०१९ मा धेरै विकेट लिने बलर 

वर्ष २०१९ मा कुल २५ विकेट लिंदै सन्दिप लामिछाने यो वर्ष सबैभन्दा धेरै टि-२० अन्तर्राष्ट्रिय विकेट लिने बलर बनेका छन्। उनले २४ विकेट लिएका भानुआटुका बलर नलिन निपिकोलाई उछिनेका हुन्। करन केसी २४ विकेट सहित यो सुचीमा तेश्रो स्थानमा रहेका छन्। कतारका इकबाल हुसेन २२ विकेट सहित चौथो र अफगानिस्तान स्टार स्पिनर राशिद खान १७ विकेट सहित तेश्रो स्थानमा छन्। १४ विकेट सहित अविनाश बोहरा सातौँ स्थानमा रहेका छन्।

८. एकै खेलमा ४ विकेट र ३० रन पनि बनाउने पहिलो र विश्वको १५ औं खेलाडी 

एकै टि-२० अन्तर्राष्ट्रिय खेलमा ४ विकेट तथा ३० या सो भन्दा बढी रन बनाउने करन केसी पहिलो नेपाली खेलाडी बनेका छन् भने विश्व को १५ औं खेलाडी बनेका छन्।


९. तेश्रो पटक कुनै टिम अल-आउट 

नेपालसंग टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले पुरै विकेट गुएको यो मात्र तेश्रो अवसर हो। पहिलो पटक नेपालसंग २०१४ टि-२० विश्वकपमा हंगकंग ६९ रनमा अलआउट भएको थियो भने यसरी वर्ष युएई १०७ रनमा अलआउट भएको थियो। बिपक्षी टिम अल-आउट भएको ३ वटै अवसरमा नेपाल विजयी भएको छ।

१०. ठुलो विश्व रेकर्ड नजिक सन्दिप र करन केसी 

वर्ष २०१९ मा सन्दिप लामिछानेले कुल २५ विकेट तथा करन केसीले २४ विकेट लिईसकेका छन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्ष सबैभन्दा बढी विकेट लिने किर्तिमान कायम गर्न अब सन्दिप मात्र ६ विकेट तथा करन ७ विकेटले टाढा छन्।

अस्ट्रेलियन बलर एन्ड्रु टाईले २०१८ मा १९ खेलमा ३१ विकेट लिंदै एकै वर्ष धेरै विकेट लिने किर्तिमान बनाएका थिए। यस्तै सोहि बर्ष पाकिस्तान बलर शदाब खानले २८ विकेट लिंदै दोश्रो तथा भारतीय बलर २०१६ मा २८ विकेटनै लिंदै दोश्रो स्थानमा रहेका छन्। २०१० मा २७ विकेट लिएका अस्ट्रेलियन बलर डर्क नानेस तेश्रो स्थानमा रहंदा सन्दिप लामिछाने चौथो स्थानमा रहेका छन्।

जारि सिरिजमा नेपालले आयरल्याण्ड र ओमानसंग २ खेल खेल्न बाँकी रहेको अवस्थामा सन्दिप र करनसंग एन्ड्रु टाईको विश्वकिर्तिमान तोड्ने मौका रहेको छ।

२०७६ आश्विन २०, सोमबार मा प्रकाशित