खेलकुद मन्त्रीद्वारा सागका लागि पूर्वाधारको निरीक्षण

काठमाडौं, असोज २७ गते । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नती भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनिएरलगायतसंग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नती भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए ।

२०७६ आश्विन २७, सोमबार मा प्रकाशित