ज्ञानेन्द्र मल्ल नेपालको नयाँ कप्तान, यस्तो छ उनको बिगत

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा लगत्तै पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोड्ने निर्णय गरेपछि नेपाली टिमको कप्तानको जिम्मेवारी संघले ज्ञानेन्द्र मल्ललाई दिएको छ।

सन् २००६ मा नामिबिया बिरुद्ध आईसीसी इन्टर कन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय टिमको डेब्यु गरेका मल्लले पारस कप्तान हुँदा सन् २००९ देखि १ दशक टिमको उपकप्तानि गरेका थिए।

३० वर्षीय मल्ल दायाँ हाते ब्याट्सम्यान हुन् जो माथिल्लो क्रममा ब्याटिंग गर्ने गर्दछन्। नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी मध्येका मल्लले कुल ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

यस्तै क्यानले उपकप्तानको रुपमा दिपेन्द्र ऐरिलाई नियुक्त गरेको छ। २०१७ मा केन्या बिरुद्ध राष्ट्रिय टिमको गरेका ऐरि दायाँ हाते ब्याट्सम्यान हुन् र माथिल्लो क्रममा ब्याटिंग गर्ने गर्दछन्।

कप्तान नियुक्त बनेपछि मल्लले प्रतिक्रीया दिने क्रममा नेपाली टिमको नेतृत्व पाउनु आफ्नो लागि गौरव रहेको बताएका छन्।

“सुरूमा मिडियाबाट यो खबर पाएँ। भर्खरै क्यानका सचिव अशोकनाथ प्याकुरेलले पनि आधिकारी जानकारी दिनु भयो। राष्ट्रिय टोलीको नेतृत्व गर्नु मेरो लागि गौरवको कुरा हो।” अब सबै जना मिलेर काम गर्नुपर्छ। त्यसका लागि खेलाडी, प्रशिक्षक र क्यान सबै बसेर राष्ट्रिय टोलीलाई कसरी अघि बढाउने भन्ने बारे छलफल गरेर सरोकारवाला सबैले एउटै सोच बनाएर अघि बढ्न जरुरी छ।” बिबिसीसंगको कुराकानीमा उनले बताए।

मल्ल कप्तान नियुक्त गरिएपछि पुर्व कप्तान पारस खड्काले बधाई दिंदै उनि कप्तान बन्न सबैभन्दा उपयुक्त रहेको बताएका छन्। यस्तै उनले मल्लको कप्तानीमा नेपाली टिमले नयाँ उचाई हाँसिल गर्नेमा विश्वास समेत व्यक्त गरे।

सन् १९९६ मा उत्तम कर्माचार्यले नेपाली टिमको कप्तानी पहिलो पटक सम्हालेका थिए। त्यसपछि लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी, बिनोद दासले कप्तानी सम्हालेका थिए।

सन् २००९ मा पारसलाई बिनोद दासको स्थानमा कप्तानी नियुक्त गरिएको थियो। १० वर्ष कप्तान रहंदा पारस नेतृत्वको नेपाली टिमले सन् २०१४ को टि-२० विश्वकपको यात्रा गर्यो भने एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पहिलो पटक पायो।

ज्ञानेन्द्र मल्ल सामु अब नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु प्रमुख चुनौती रहेको छ।यसै सात एमसीसी बिरुद्ध कप्तानी गर्दै मल्लले कप्तानी करियरको सुरुवात गर्नेछन्।

ज्ञानेन्द्रको कप्तान अनुभव 

ज्ञानेन्द्रले यस अघि पनि पारस खड्का अनुपस्थित रहंदा बिभिन्न पटक नेपाली टिमको कप्तानी सम्हालीसकेका छन्।

सन् २०१३ डिसेम्बरमा नेपालमा आयोजित जर्नी टु विश्वकप प्रतियोगितामा उनले सिंगापुर बिरुद्ध नेपालको कप्तानी पहिलो पटक गरेका थिए। त्यसपछि २०१४ एकदिवसीय विश्वकप छनौटको स्कटल्याण्ड बिरुद्ध एक खेलमा मल्लले कप्तानी गरेका थिए। यस्तै २०१५ को युएई टुरमा हंगकंग बिरुद्ध, २०१७ विश्व क्रिकेट  च्याम्पियनसिप अन्तर्गत पारस खड्का घाइते हुँदा केन्या बिरुद्ध दुइ वटै खेलमा मल्लले कप्तानी सम्हालेका थिए। त्यसपछि २०१७ एसीसी इमर्जिंग टिम्स कप प्रतियोगिता मल्लको कप्तानीमा नेपालले खेलेको थियो। यसै वर्ष जुलाईमा आईसीसी टि-२० विश्वकप छनौट एसिया रिजन फाइनलमा समेत पारस घाइते हुँदा मल्लले मलेसिया बिरुद्ध कप्तानी सम्हालेका थिए।

राष्ट्रिय टिम बाहेक ज्ञानेन्द्रले टि-२० लिगहरुमा ललितपुर पेट्रीएट्स, काठमाडौँ गोल्डेन्स, काठमाडौँ रोयल्स जस्ता टिमको कप्तानी सम्हालीसकेका छन्। उनको कप्तानीमा गत सिजन एभरेस्ट प्रिमियर लिगको उपाधि ललितपुरले पहिलो पटक जितेको थियो।

घरेलु टि-२० क्रिकेटमा लामो समय देखि कप्तानी सम्हालेता पनि मल्ल त्यति सफल कप्तान भने मानिदैनन्। अधिकांश लिगको उपाधि शरद भेसावकर या पारस खड्का कप्तानीको टिमले जित्दै आएको छ।

मल्लको बिगत 

कलात्मक ब्याट्सम्यानको परिचय बनाएका मल्लले नेपालको लागि २००५ मा अन्डर-१५ क्रिकेट टिम हुँदै यात्रा थालेका थिए।

सन् २००६ अन्डर-१९ विश्वकपमा नेपालले प्लेट च्याम्पियनसिप को सेमीफाईनल अन्तर्गत दक्षिण अफ्रीकालाई नेपालले २ रनले पराजित गर्दा मल्लले अविजित ४६ रन बनाएका थिए।

२००५ मा यु-१५ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेपछि सोहि बर्ष यु-१७ र यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका मल्लले यु-१९ बिश्वकप २००६ मा राम्रो प्रदर्शन गरेपछि सिनियर टिममा स्थान बनाए।

नामिबियासंग आईसीसी इन्टरकन्टिनेन्टल कप २००६ ( ४ दिने ) मा रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका मल्लले त्यस खेलको दोश्रो इनिंगमा अविजित १६ रन बनाएका थिए।

त्यसपछि स्टार पाकिस्तानी खेलाडीहरुले भरिएको पाकिस्तान क्रिकेट एकेडेमीसंग नेपालको प्रतिनिधित्व गरेका मल्लले दोश्रो खेलमा अविजित ७८ रन बनाउदै सिनियर टिमको लागि पहिलो अर्धशतक बनाएका थिए। उक्त पाकिस्तान क्रिकेट एकेडेमी टिममा अनवर अलि, फवाद आलम , खुर्रम मन्जुर, नासिर जम्सेद जस्ता खेलाडी पाकिस्तान रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडी समेत थिए।

अन्तर्राष्ट्रिय खेलमा भने मल्लले एसीसी ट्रफी २००६ मा कुवेतसंग पहिलो अर्धशतक ( ७९ रन ) बनाएका थिए र म्यान अफ द म्याच समेत चुनिएका थिए।

६ बलमा ६ चौका , सबैभन्दा छिटो अर्धशतक

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसंग ज्ञानेन्द्र मल्लले अचम्मको कारनामा गरे। खेलको दशौं ओभरमा मोहम्मद नदीमको ओभरको सबै बललाई बाउन्ड्री पार गराउदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बने।

सोहि इन्निंगमा १७ बलमै अर्धशतक पुरा गर्दै मल्लले सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका थिए। खेलमा मल्लले अविजित ६१ रन बनाउदा २३ बलको सामना गरि १३ चौका र १ छक्का प्रहार गरेका थिए। खेल नेपालले ९ विकेटले जितेको थियो।

२०१४ मा पहिलो शतक

२००६ मा रास्ट्रिय टिमको लागि पहिलो खेल खेलेका मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकको लागि ८ बर्ष कुर्नु पर्यो। मलेसियामा सम्पन्न सन् २०१४ को डीभिजन-३ प्रतियोगितामा मल्लले सिंगापुरसंग उक्त सफलता हाँसिल गरे।

खेलमा पहिले ब्याटिंग गरेको नेपालको लागि तेश्रो नम्बरमा आउदै मल्लले ११४ रनको इनिंग खेल्दै शतक प्रहार गर्ने सातौ नेपाली खेलाडी भएका थिए। उनले १२५ बलको उक्त इनिंगमा १७० मिनेट ब्याटिंग गर्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए। नेपालको लागि एकै खेलमा सर्बाधिक रन बनाउने लिस्टमा सुबास खकुरेल ( ११५ ) पछि मल्ल दोश्रो नम्बरमा छन्।

एक दिवसीय क्रिकेटमा पहिलो अर्ध-शतक

नेपालले नेदरल्याण्ड बिरुद्ध गत बर्ष अगस्टमा आफ्नो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो।

नेदरल्याण्डको घरेलु मैदानमा भएको शृंखलाको पहिलो खेलमा १९० रनको लक्ष्यको पिछा गरेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ५१ रनको इनिंग खेल्दै जिततर्फ लैजाने प्रयास गरे। मल्लको इनिंगका बाबजुत नेपाल ५५ रनले पराजित हुन पुगे पनि ज्ञानेन्द्र भने इतिहास कायम राख्न सफल भए।

नेपाली क्रिकेट इतिहासमा आफ्नो नाम लेखाउने क्रममा ज्ञानेन्द्र मल्ल नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध-शतक प्रहार गर्ने पहिलो खेलाडी बने। ६१ बलको सामना गरेका मल्लले ८ चौका सहित ५१ रन जोडेका थिए।

टि२० मा नेपालको लागि छिटो अर्धशतक

यसै वर्ष श्रावणमा सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपालले मलेसिया बिरुद्द ७ विकेटको जित निकाल्ने क्रममा मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका थिए। २० बलमै अर्धशतक पुरा गरेका मल्ल नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। उक्त प्रतियोगिता अघि मलेसियासंग आयोजित सिरिजमा बिनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए। २ खेल पछिनै मल्लले उक्त रेकर्ड तोडेका हुन्।

२०७६ कार्तिक १३, बुधबार मा प्रकाशित