बिनोद, ललित र पवनको प्रदर्शनमा नेपालद्वारा एमसीसी पराजित

नेपाल भ्रमण अन्तर्गत आफ्नो दोश्रो खेलमा मेरीलेबन क्रिकेट क्लब ( एमसीसी ) ले दोश्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमसंग हार बेहोरेको छ। पहिलो खेलमा एमसीसीले नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको थियो।

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको एमसीसीले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल तयार गर्दै नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा एक समय १३६/५ को अवस्थामा रहेको नेपाललाई त्यसपछि बिनोद भण्डारी र पवन सर्राफले अविजित साझेदारी गर्दै जितसम्म पुर्याए। दुवैले छैठौं विकेटको लागि ७० रनको साझेदारी गरे। बिनोदले यस अघि आरिफ शेखसंग ५४ रनको साझेदारी गरेका थिए।

Pawan Sarraf

बिनोदले ६४ बलमा ३ चौका र २ छक्का मदतले अविजित ५२ तथा पवनले २५ बलमा ४ चौका र २ छक्का मदतले अविजित ३८ रन बनाए।

यस अघि शरद भेसावकर २४, आरिफ शेखले २३, दिपेन्द्र ऐरि २३, ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे ४ रन बनाएर आउट भएका थिए।

एमसीसीको बलिङ्गमा पुर्व पाकिस्तान क्रिकेटर समेत रहेका यासिर अराफातले सर्वाधिक ३ विकेट लिए। यस्तै एलेक्स थोम्पसनले २ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एमसीसीले राम्रो सुरुवात गरेता पनि २०१ रन मात्रै बनाउन सकेको थियो।

एमसीसीको लागि ओपनरद्वय विल रोड्सले सर्वाधिक ५४ तथा बिल्ली गडलेमेनले ५२ रन बनाए। दुवैले पहिलो विकेटको लागि १०.४ ओभरमा ७३ रनको साझेदारी गरे। गडलेमेनले पहिलो विकेटको रुपमा आउट हुनु अघि मात्र ३८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। रोड्सले ७१ बलमा ५ चौका प्रहार गरे।

Lalit Rajbanshi
Lalit Rajbanshi

१९ औं ओभरमा टम वेस्ट्लेलाई बोल्ड गर्दै तेश्रो विकेट ललित राजबंशीले दिलाएपछि एमसीसीले ठुलो साझेदारी बनाउन सकेन र लगातार जसो विकेट गुमाउन पुग्यो। चौथो नम्बरमा ब्याटिंग गरेको विल भान्डरस्परले ३६ रन बनाउनु बाहेक मध्ये क्रमका र तल्लो क्रमका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन्।

एक समय १०७/२ को अवस्थामा रहेको एमसीसीले १७९/६ को अवस्थामा पुग्यो जहाँबाट विकेट जाने क्रम रोकिन सकेन र टिम ३९.५ ओभरमा २०१ रनमै समेटिन पुग्यो।

नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर ललित राजबंशी र अफ स्पिनर पवन सर्राफले ४/४ विकेट लिए। राजबंशीले १० ओभरमा १ मेडन ओभर सहित ४० रन तथा सर्राफले ८ ओभरमा १ मेडन गर्दै ३१ रन खर्चिए। करन केसी र अविनाश बोहराले समान १/१ विकेट लिए।

खेलमा यस अघि घोषित टोलिमा रहेता पनि पारस खड्का र सन्दिप लामिछानेले भने खेलेनन्। नखेल्नुको कारण बारे थाहा भएको छैन। पारस ५० ओभर टिममा मात्रै रहेका थिए भने सन्दिप ५० ओभर, ३ दिवसीय र टि-२० को लागि पनि टिममा रहेका थिए।

टुर अन्तर्गत अब एमसीसीले बुधबार देखि नेपाली सिनियर टिमसंग ३ दिवसीय प्रथम श्रेणी खेल खेल्नेछ।

३ दिवसीय ( प्रथम श्रेणी ) टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, जितेन्द्र मुखिया, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामि

टि-२० टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख , अमित श्रेष्ठ, अभिनाश बोहरा , बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी , कुशल भुर्तेल, ललित राजबंशी, नन्दन यादब, पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि

२०७६ कार्तिक १८, सोमबार मा प्रकाशित