सचिन तेन्दुलकर नेपाल आउने

क्रिकेटका भगवानको रुपमा चिनिने भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्।

तेन्दुलकर युनिसेफको दुतको रुपमा नेपाल आउन लागेको सेतोपाटिले लेखेको छ। केहि वर्ष अघि खान पनि युनिसेफको कार्यक्रमको दौरान नेपाल आएका थिए।

तेन्दुलकर नोभेम्बर १६ मा आउने सम्भावना प्रवल रहेको छ।  यदी त्यो मितिमा सम्भव नभए नोभेम्बर २० वा २२ तारिखमा उनि आउने कुराकानी भइरहेको छ।

नेपालमा सचिनले पोषण सम्बन्धि कार्यक्रममा सहभागी हुने बताईएको छ। यस अघि यही कार्यक्रमको दौरान सचिन भुटान पनि पुगेका थिए।

नेपालमा यस अघि महेन्द्र सिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा , कपिल देव, सुनिल गावस्कर जस्ता क्रिकेटर आइसकेका छन्।

सचिन युनिसेफको कार्यक्रमको दौरान भुटान पनि पुगेका थिए

सचिन नेपाल आउदा नेपाली टिम इमर्जिङ्ग टिम्स कप खेल्न बंगलादेशमा हुनेछन् भने कप्तान पारस खड्का र सन्दिप लामिछाने टि-१० लिग खेल्न युएईमा हुनेछन्। तसर्थ नेपाल आउदा सचिनसंग नेपाली टिमले भेट्न पाउने छैन।

मास्टर ब्लास्टर सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन् जसको नाममा विश्व क्रिकेटका ठुला रेकर्डहरु रहेका छन्। एक दिवसीय र टेस्ट क्रिकेटमा क्रमसः  १८ हजार ४ सय २६ र १५ हजार ९ सय २१ रन बनाएका तेन्दुलकर दुवै फर्म्याटमा धेरै रन बनाउने खेलाडी हुन्। यस्तै सचिनले एकदिवसीयमा ४९ र टेस्टमा ५१ गरि कुल १०० शतक बनाएका छन् जुन दुवै फर्म्याटमा र समग्रमा सबैभन्दा धेरै शतक हो।

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित