भारतले सुरु गर्यो पिङ्क बलको तयारी, बंगलादेशसँग डे-नाइट टेस्ट हुने

भारत र बंगलादेशबीच कोलकत्तामा हुने दोश्रो टेस्ट डे-नाइट हुने भएको छ । दुवै टिमले पहिलो पल्ट डे-नाइट टेस्टको अनुभव लिन लागेका हुन् । दोश्रो टेस्ट अघि पहिलो टेस्ट भने डे टेस्ट नै हुनेछ जुन इन्दोरमा नोभेम्बर १४ देखि सुरु हुनेछ ।

लामो फर्म्याटको खेलमा भारतीय टिमका मेरुदण्ड रहेका चेतेश्वर पुजारा, ओपनर ब्याट्सम्यान मयंक अग्रवाल लगायत अन्य भारतीय खेलाडीले शनिबार बैंगलोर स्थित चिन्नास्वामी मैदानमा पिङ्क बलले अभ्यास गरेका थिए । डे- नाइट टेस्ट पिङ्क बलले खेल्ने गरिन्छ । पुजारा र मयंकको साथै टिमका उपकप्तान अजिंक्या रहाणे, अलराउण्डर रविन्द्र जडेजा र हनुमा विहारीले अभ्यास सत्रमा सहभागी भएका थिए ।

भारतका पुर्व कप्तान तथा ‘द वाल’ को नामले चिनिने राहुल द्रविडको निरीक्षणमा खेलाडीले अभ्यास गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ । ब्याट्सम्यानको साथै तिब्र गतिका बलर मोहम्मद शामी र इशान्त शर्माले पनि नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा अभ्यास गरेका थिए । खेलाडीहरुले रातिको समयमा पुरानो पिङ्क बलको स्विंग कसरी झेल्ने भन्ने तयारी गरिरहेका छन् ।

टेस्ट क्रिकेटकै तयारी स्वरुप यी सबै खेलाडी भारतको घरेलु क्रिकेट सैद मुस्ताख अलि टि२० ट्रफीमा समाबेश भएका छैनन् । सैद मुस्ताख अलि ट्रफी इन्डियन प्रिमियर लिगको लागि ढोका मानिने गर्छ ।

पहिलोपल्ट सन् २०१५ नोभेम्बरमा एडिलेडमा अष्ट्रेलिया र न्युजिल्याण्डबीच डे-नाइट टेस्ट खेल भएको थियो । त्यो भन्दा करिब दुई हप्ता अगाडी अष्ट्रेलिया र इंग्ल्याण्डबीच महिला एसेज टेस्टको खेल आयोजना भएको थियो । त्यसपछी महिला क्रिकेट तर्फ़ डे-नाइट टेस्ट आयोजना भएको छैन भने पुरुष क्रिकेट तर्फ ११ वटा खेल आयोजना भएका छन् । भारत र बंगलादेशबीच हुने खेल १२ औं डे-नाइट टेस्ट हुनेछ ।

भारतले आइतबार मात्रै बंगलादेश बिरुद्दको टि२० सिरिज २-१ ले जितेको छ । पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको भारतले दोश्रो खेलमा ८ विकेट र तेस्रो खेलमा ३० रनको जित निकाल्दै उत्कृस्ट पुनरागमन गर्यो ।

२०७६ कार्तिक २५, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment