चिनको सांघाईमा आज देखि सुरु भएको पहिलो ‘बेल्ट एण्ड रोड चाइना गर्ल्स अन्डर-१९ टि-२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत पहिलो खेलमा नेपाल थाईल्याण्डसंग पराजित भएको छ।
सन् २०१२ पछि पहिलो पटक कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाली अन्डर-१९ टिमलाई थाईल्याण्डले स्तब्ध पार्यो। २९ रनले नेपाललाई पराजित गर्ने क्रममा थाईल्याण्डले यु-१९ स्तरमा नेपाली महिला टिमलाई इतिहासमै पहिलो पटक पराजित गर्यो।
खेलमा टस जितेर थाईल्याण्डले ब्याटिंग गर्दै दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।
नेपालको लागि ब्याटिंगमा ओपनर राजमती ऐरिले १२ तथा लक्ष्मी साउदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान डली भट्टले खाता खोल्न सकिनन् भने कविता कुँवरले ८ रन बनाईन्।
थाईल्याण्ड बलर अरितसारा चिनसुकसंगले ३ विकेट हात पारिन्।
अतिरिक्त रन बन्यो हारको प्रमुख कारण
पहिले ब्याटिंग गर्ने क्रममा थाईल्याण्डले १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो। उक्त ९१ रनमा नेपालले दिएको २९ अतिरिक्त रन सामेल थियो जुन खेलमा नेपाल हार्नुको प्रमुख कारण बन्न पुग्यो।
खेलमा दोश्रो ओभर बलिङ्ग गरेकी इश्वरी बिस्टले एकै ओभरमा २० रन खर्चने क्रममा कुल ४ वटा वाइड बल तथा एउटा नो बल फालेकी थिईन्। ओभर पुरा गर्न बिस्टलाई ११ बल लागेको थियो। उनले खेलमा १ ओभर मात्र बलिङ्ग पाइन्।
थाईल्याण्डको ब्याटिंगमा पनि ओपनर नानापाटले १२ तथा सुनाकम खिटोले १० रन बनाएका थिए।
नेपालको बलिङ्गमा कृतिका मरासिनी ( ३-०-१६-३ ) र खुसि डंगोल ( ३.४-०-१०-३ ) ले समान ३/३ विकेट हात पारिन्। स्कोरकार्ड
प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल बुधबार चिनसंग खेल्ने छ। यस्तै तेश्रो खेल म्यानमारसंग बिहिबार तथा चौथो खेल मलेसियासंग शुक्रबार खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा नेपाल, चिन, थाईल्याण्ड, म्यानमार र मलेसिया गरि कुल ५ राष्ट्र सहभागी रहेका छन्। यस अघि सहभागी हुने भनिएको साउदी अरबले प्रतियोगिता नखेल्ने भए पछि प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ।
सहभागी सबै टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम विजेता हुनेछ।
( फोटो – कृष्ण गोपाल यादब )