इमर्जिङ्ग एसिया कप पहिलो दिन : ओमानसंग श्रीलंका स्तब्ध , बंगलादेश, भारत र पाकिस्तानको सहज जित

बंगलादेशमा बिहिबार देखि सुरु भएको एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत पहिलो दिन ४ वटा खेल सम्पन्न भएका छन्।

नेपालले पहिलो खेलमा भारतसंग ७ विकेटको हार बेहोर्यो। यस्तै  हंगकंगले बंगलादेशसंग ९ विकेटले तथा पाकिस्तानले अफगानिस्तानलाई ८ विकेटले सहजै पराजित गर्यो। पहिलो दिन स्तब्ध पार्ने नतिजा ल्याउने क्रममा ओमानले श्रीलंकालाई ४ विकेटले पराजित गर्यो।

अफगानिस्तान Vs पाकिस्तान : पाकिस्तान ८ विकेटले विजयी

खेलमा टस जितेर  पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४२.२ ओभरमा १३८ रनमा सबै विकेट गुमाएको थियो। अफगानिस्तानलाई सानो योगफलमा सिमित गर्न पाकिस्तान बलर मुहम्मद मोहसिन खानले ४ तथा अमाद बट र खुसदिल शाहले २/२ विकेट लिए। अफगानिस्तानको लागि मुनिर एहमदले सर्वाधिक ४१ रन बनाए। जवाफमा पाकिस्तानले ३५.३ ओभरमै लक्ष्य पुरा गर्यो। रोहेल नाजिरले अविजित ५३, साउद शकिलले अविजित ३० तथा ओमेर युसुफले ३८ रन बनाए।

हंगकंग Vs बंगलादेश : बंगलादेश ९ विकेटले विजयी

टस हारेर ब्याटिंग गरेको हंगकंगले दिएको १६५ रनको लक्ष्य घरेलु टिमले मात्र १ विकेट गुमाएर २४.१ ओभरमै पुरा गर्यो। बंगलादेशको जितमा सुमोन खानले सर्वाधिक ४ विकेट लिए भने ब्याटिंगमा ओपनर सौम्य सरकारले अविजित ८४ रन तथा नैम शेखले ५२ रन बनाए।

ओमान Vs श्रीलंका : ओमान ४ विकेटले विजयी 

प्रतियोगितामा पहिलो स्तब्ध पार्ने नतिजा ल्याउन ओमानले श्रीलंकालाई ४ विकेटले पराजित गर्यो। श्रीलंकाले दिएको २६९ रनको लक्ष्य ओमानले ४८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा एक समय ९० रनमा ४ विकेट गुमाईसकेको ओमानलाई जतिन्दर सिंह र सुरज कुमारले शतकीय साझेदारी गर्दै २०० पार गराएका थिए। १४८ रनको साझेदारी गरे पछि सुरज ४६ औं ओभरमा आउट भए जस अघि उनले ७७ बलमा ४ चौका र ३ छक्का मदतले ७० रन बनाए। त्यसपछि पनि जतिन्दरसिंहलाई मोहम्मद नसिमले साथ दिए। नसिमले मात्र १० बलमा २ छक्का र १ चौका मदतले २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएर आउट भए। ओपनर जतिन्दर सिंहले अविजित १३१ रन बनाउने क्रममा १५० बलमा १३ चौका र १ छक्का प्रहार गरे।

श्रीलंकाको बलिङ्गमा अमिला अपोन्सोले ३ विकेट लिए।

खेलमा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २६८ रन बनाएको थियो। उसको लागि नदिजा कोरालेले सर्वाधिक ६२, चरिथा असलंकाले ५७ तथा पेतुम निसान्काले ४० रन योगदान दिए। ओमान बलर इस्माइल इब्राहिमले ३ तथा भिक्रम ओडेडराले २ विकेट लिएका थिए।

नेपाल Vs भारत – भारत ७ विकेटले विजयी

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा ब्याटिंगतर्फ सन्भिर सिंहले ५६, अरमान जाफरले ५१ तथा रभी शरथले ४९ रन योगदान दिए भने बलिङ्गतर्फ सौरभ दुवेले ४ र यश राथोड़ले ३ विकेट लिए।

नेपालको लागि ब्याटिंगमा पवन सर्राफले सर्वाधिक ५६ र शरद भेसावकरले ४४ रन बनाए। बलिङ्गमा करन केसी, ललित राजबंशी र सुशन भारिले १/१ विकेट लिए

२०७६ कार्तिक २८, बिहीबार मा प्रकाशित