महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि ( भिडियो सहित )

माल्दिभ्सलाई पराजित गर्दै नेपालले बंगलादेशमा बिहिबार सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ।

नेपाली महिला भलिबल टिमले ठुलो प्रतियोगितामा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। नेपालले सन् २०१४ मा काठमाडौँमा आयोजित दक्षिण एसियाली महिला भलिबलमा दोश्रो स्थान हाँसिल गरेको थियो।

सहिद सुहेरबर्दी इन्डोमा स्टेडियममा सम्पन्न फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३-० ले पराजित गर्यो। पहिलो सेट २५-१३ , दोश्रो सेट २५-१२ र तेश्रो सेट २५-८ ले नाम गर्दै नेपालले उपाधि आफ्नो पक्षमा पार्यो।

प्रतियोगिताको उपाधि जित्ने क्रममा नेपालले अफगानिस्तान, बंगलादेश, किर्गिस्तान र माल्दिभ्सलाई पराजित गर्यो। माल्दिभ्सलाई नेपालले २ पटक पराजित गर्यो। नेपालले खेलेको सबै खेलमा कुनै पनि सेटमा हार बेहोर्नु परेन। लिग चरणमा नेपालले अफगानिस्तानलाई २५-४, २५-९, २५-६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको थियो।

नेपाल र माल्दिभ्स राउण्ड रोबिन लिगमा नेपाल पहिलो र माल्दिभ्स दोश्रो हुँदै फाइनल प्रवेश गरेको थियो।

भिडियो हेर्नुस 

२०७६ कार्तिक २८, बिहीबार मा प्रकाशित