बराबरीमा टुंगियो पारसको आबुधाबी र कलन्दर्सको खेल

युएईमा शुक्रबार देखि सुरु भएको टि-१० लिग अन्तर्गत पहिलो दिन सम्पन्न टिम आबु धाबी र कलन्दर्स बीचको खेल बरबारीमा टुंगिएको छ।

नेपाली क्रिकेटर पारस खड्का आबद्ध रहेको आबु धाबीले पहिले ब्याटिंग गर्दै दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुमाएर १०३ रननै बनायो।

कलन्दर्सलाई जितको लागि अन्तिम २ ओभरमा जितको लागि २३ रन आवस्यक रहेको थियो। बेन लाफलिनले गरेको नवौं ओभरमा फिलिप साल्टले अन्तिम ३ बलमा लगातार ३ चौका प्रहार गरे। अब अन्तिम ओभरमा जित्न मात्र ९ रन आवस्यक रहेको थियो।

अन्तिम ओभर बलिङ्ग गरेका मर्चान्ट डी लांगेले ओभरको पहिलो ३ बलमा १/१ रन मात्रै दिए। चौथो बलमा फिलिपले चौका प्रहार गरे। अब जितको लागि मात्र २ बलमा २ रन आवस्यक रहेको थियो। पाँचौ बलमा फिलिप क्याच आउट भए। अब अन्तिम बलमा जित्न २ रन आवस्यक थियो। क्रिजमा आएका सेक्कुगे प्रसन्नाले १ रन मात्रै लिन सके। खेल बराबरीमा टुंगियो।

लिग चरणको खेलमा सुपर ओभर नभएकाले दुवै टिमले अंक बाँडेका छन्।

कलन्दर्सको लागि कप्तान दविड मलानले सर्वाधिक ३३, लुक रोंकीले २३ तथा फिलिप साल्टले २२ रन बनाए। आबु धबी बलर डी लांगेले २ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा टिम आबु धाबीले ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। उसको लागि कोरे एण्डरसनले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। लुक राइटले २० तथा निरोशन डिकवेलाले १७ रन बनाए। कलन्दर्सको बलिङ्गमा लाहिरु कुमाराले सर्वाधिक २ विकेट लिए।

पारसले बनाए अविजित ३ रन 

टि-१० लिग प्रतियोगिता अन्तर्गत पारस खड्काले कलन्दर्स बिरुद्ध डेब्यु गरेका छन्। टिम आबु धाबीको प्रतिनिधित्व गरेका पारसले खेलमा अविजित ३ बलमा ३ रन बनाउन सके।

टिमको ४ विकेट गुमे पछि आठौँ ओभरमा ब्याटिंग गर्न आएका पारसले नवौं ओभरको अन्तिम बलमा पहिलो बल खेल्ने मौका पाएका थिए। पारस ब्याटिंगमा आउदा कमेन्टेटरले नेपालमा क्रिकेट चर्चित हुँदै गएको प्रसंग निकालेका थिए।

आफुले सामना गरेको पहिलो बलमा जोर्डन क्लार्कको बलमा पारसले लांग अनमा ड्राइभ गर्दै २ रन लिए। त्यसपछि अन्तिम ओभरको पाँचौ बलमा पारसले रन बनाउन सकेनन्। त्यसपछि अन्तिम बलमा पारसले १ रन लिए। योर्कर बललाई पारसले हल्का हातले खेलेका थिए। सो क्रममा दोश्रो रन लिन चाहेका डी लांगेलाई पारसले रोकेपछि उनि रन आउट हुन पुगे। त्यस क्रममा कमेन्टेटरले अन्तिम बल भएकोले दोश्रो रन लिन नमानेकोमा पारसको आलोचना गरेका थिए।

आगामी खेल :– टि-१० लिग अन्तर्गत पारसको टिम आबु धाबीले अर्को खेल आइतबार नर्थर्न वारियर्ससंग ५:४५ बजे बेलुका खेल्नेछ। आज नेपाली स्पिनर सन्दिप लामिछानेको खेल रहेको छ। सन्दिपको टिम कर्नाटकाले पहिलो खेलमा शनिवार राति ७:३० बजे डेल्ली बुल्ससंग खेल्दैछ।

समुह चरणमा टिम अबु धाबीको खेल तालिका :

नोभेम्बर १७ ( आइतबार ) – Vs नार्थन वारियर्स ( 5:15 PM )
नोभेम्बर १८ ( सोमबार )– Vs मराठा अरबीयन्स ( 7:30 PM )

समुह चरणमा कर्नाटका टस्कर्सको खेल तालिका :

नोभेम्बर – १६ ( शनिबार ) – Vs डेल्ली बुल्स ( 7:30 PM )
नोभेम्बर – १७ ( आइतबार ) – Vs बांग्ला टाइगर्स ( 7:30 PM )
नोभेम्बर – १८ ( सोमबार ) – Vs मराठा अरबीयन्स ( 5:15 PM )

२०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित