शरद, करन र अविनाशको प्रदर्शनमा नेपालको जित, एकै खेलमा विनोदले लिए ६ वटा क्याच

बंगलादेशमा जारि एसीसी इमर्जिङ्ग टिम्स एसिया कप अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा हंगकंगलाई ४० रनले पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले ४५.५ ओभरमा १७७ रनमा सम्पूर्ण विकेट गुमायो। स्कोरकार्ड  , अंकतालिका 

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा यस अघि नेपालले भारतसंग ७ विकेटको हार बेहोरेको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ। नेपालले अब अन्तिम खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ। अब नेपाल सेमीफाइनल प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपालले अन्तिम खेलमा बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ।

लक्ष्य पछ्याउने क्रममा नेपालले हंगकंगलाई सुरुवात देखि दबाबमा राखेको थियो। हंगकंगले पहिलो ५ विकेट ४७ रनमै गुमाएको थियो। हंगकंग ओपनर क्यामरुन म्याकल्सन ४ रन तथा निजकत खान ९ रन बनाएर आउट भए। त्यसपछि एहसान अलि १०, शहिद वासिफ १० तथा एजाज खान खाता नखोली आउट भए।

करन केसीले ३ विकेट लिए

छैठौं विकेटको लागि किन्चित शाहले हरुन अर्शदसंग ६० रनको साझेदारी गर्दै योगफल १०० पार गराए। ३० औं ओभरमा किन्चित ५३ रन बनाएका किञ्चितलाई सुशन भारिले क्याच आउट गराए पछि हंगकंगले पुनः लगातार विकेट गुमायो। ३८ औं ओभरमा हंगकंग १३५/९ को अवस्थामा पुग्यो।

अन्तिम विकेटको रुपमा हंगकंगका आठौँ नम्बरका ब्याट्सम्यान एहसान नवाजले ११ औं नम्बरका रौनक कपुरसंग ४२ रनको साझेदारी गर्दै नेपालको जितको प्रतिक्षा लम्ब्याए। रौनक कपुर ४६ औं ओभरमा ललित राजबंशीबाट रन आउट हुँदा नेपालले राहतको स्वास फेर्यो।

अविजित रहेका एहसान नवाजले ४४ रन बनाए जुन क्रममा ५३ बलमा ३ छक्का र २ चौका प्रहार गरे।

नेपालको बलिङ्गमा करन केसी ( ९-१-३२-३ ) र अविनाश बोहरा ( ९-२-३२-३ ) ले समान ३/३ विकेट तथा सुशन भारिले ( ८-०-३८-२ ) २ विकेट लिए।

बिनोद भण्डारीले लिए ६ वटा क्याच नेपालका विकेट किपर विनोद भण्डारीले एकै खेलमा ६ वटा क्याच लिए। हंगकंगको पहिलो ५ विकेट जाँदा सबै क्याच बिनोद भण्डारीले गरेका थिए। लिस्ट ए क्रिकेटमा ६ विकेट लिएको लिस्ट ए क्रिकेटमा नेपाली क्रिकेटरको यो पहिलो अवसर हो।

नेपालको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन बनाएको थियो।

नेपालको लागि शरद भेसावकरले सर्वाधिक ८९ रन बनाए। पहिलो ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि ब्याटिंग गर्न आएका भेसावकरले ५० औं ओभरसम्म ब्याटिंग गरेका थिए। यसक्रममा उनले १३९ बलमा ९ चौका प्रहार गरे। दिपेन्द्र ऐरिले ३७, आरिफ शेखले ४२ तथा बिनोद भण्डारीले १५ रन बनाउनु बाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कमजोर सुरुवात गर्ने क्रममा नेपालले दुवै ओपनरलाई दोश्रो ओभरमा ३ रनको योगफलमा गुमाएको थियो। ज्ञानेन्द्र मल्ल पहिलो ओभरको दोश्रो बलमा ऐजाज खानबाट खाता नखोली बलरबाटै क्याच आउट भए। कुशल भुर्तेललाई ऐजाज खानले तेश्रो ओभरमा बोल्ड गरे जसले १ रन बनाए। ज्ञानेन्द्र यस अघि भारतसंगको खेलमा पनि खाता नखोली आउट भएका थिए।

Sharad Vesawkar

२ विकेट छिट्टै गुमाए पछि तेश्रो विकेटको लागि शरद भेसावकरले दिपेन्द्र ऐरिसंग ८३ रनको साझेदारी गरेका थिए। दिपेन्द्रको विकेट पछि शरदले चौथो विकेटको लागि आरिफ शेखसंग ७४ रनको साझेदारी गरे। त्यसपछि भने नेपालले लगातार विकेट गुमायो। पवन सर्राफ खाता नखोली आउट भए भने बिनोद भण्डारी १५, करन केसी ७, सुशन भारि ६ तथा ललित राजबंशी १ रन बनाएर आउट भए। अविनाश बोहरा २ रनमा अविजित रहे।

हंगकंग बलर एजाज खानले ३ विकेट तथा नसरुल्लाह राना र एहसान नवाजले समान २/२ विकेट लिए।

Player of the match – Sharad Vesawkar

२०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित