टि-१० लिग : पहिलो बलमै सन्दिपले लिए विकेट, टिमको पहिलो जित

युएईमा जारि टि-१० लिग अन्तर्गत सन्दिप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्सले आफ्नो पहिलो खेलमा ओयन मोर्गन कप्तानीको दिल्ली बुल्सलाई १९ पराजित गरेको छ।

शेख जायद स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरमा दिल्लीले ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको लागि एञ्जेलो म्याथुजले ३१ र कप्तान ओएन मोर्गनले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्नाटकाको बलिङ्गमा नाथन रिमिङ्गटनले ३ विकेट ( २-०-२८-३ ) , प्याट्रिक ब्राउन र एह्मद राजाले २/२ विकेट तथा सन्दिप लामिछानेले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो। श्रीलंकन ब्याट्सम्यान उपुल थाराङ्गाले सर्वाधिक ४८ रन बनाए जुन क्रममा २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै शाफिकुल्लाह शफिकले ३४ रन बनाए। दिल्लीका बलर रभी रामपालले २ तथा डेभिड विले र दुश्मन्था चमिराले १/१ विकेट लिए।

सन्दिपको प्रदर्शन 

खेलमा सन्दिपले २ ओभर बलिङ्ग गर्ने क्रममा १९ रन खर्चेर १ विकेट लिए।

सन्दिपको पहिलो ओभर – ३ रन र १ विकेट ( विकेट, ० , १ , १ , ० , १ ) 

इनिंगको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले पहिलो ओभरमा निकै उत्कृस्ट बलिङ्ग गरे। ओभरको पहिलो बलमै उनले मोहम्मद उस्मानलाई बोल्ड गरे। सन्दिपको गुगलीलाई प्याडल गर्ने क्रममा बल ब्याको किनारा लागेर स्टम्पमा लागेको थियो।

पहिलो ओभरमा सन्दिपले मात्र ३ रन खर्चे जुन १-१ सिंगल रन बाट आयो। ओभरमा सन्दिपले गुगली र गति परिवर्तनको राम्रो मिश्रण गरे। ओभर भर एन्जेलो म्याथुज र ओएन मोर्गन जस्ता अनुभवी ब्याट्सम्यानलाई सन्दिपले रनमा अंकुस लगाएर राख्न सफल भए।

सन्दिपको दोश्रो ओभर – १६ रन ( १, ६ , ६ , २ , ० , १ ) 

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग गरेपछि लगत्तै स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपले दोश्रो ओभरमा भने पहिलो ओभरको सफलता दोहोर्याउन सकेनन्।

ओभरको पहिलो बलमा मोर्गनले १ रन लिएर म्याथुजलाई स्ट्राइक दिए। ३ विकेट पछि दबाबमा परेको दिल्लीलाई रनको मोमेन्टम दिने क्रममा म्याथुजले सन्दिपको दोश्रो र तेश्रो बलमा छक्का प्रहार गरे। दुवै छक्का उनले दिप मिड विकेटको दिशामा प्रहार गरे। लगातार २ बलमा छक्का खाएपछि बाँकी ३ बलमा भने सन्दिप सम्हालिए। चौथो बलमा मिस फिल्ड हुँदा म्याथुजले २ रन लिन सके।

ओभरको पाँचौ बलमा सन्दिपले गरेको गुगलीलाई म्याथुजले स्लग स्विप गर्न खोज्दा बलले प्याडमा लाग्यो। सन्दिपले निकै आत्मविश्वासी अपिल गरेता पनि अम्पायरले आउट दिएनन्। अम्पायरले आउट नदिए पछि कमेन्टेटरले म्याथुजलाई भाग्यमानी बताए। अन्तिम बलमा सन्दिपले १ रन दिए।

टि-१० लिगमा सन्दिप दोश्रो सिजन खेलीरहेका छन्। गत सिजन सन्दिप केरलाको लागि खेलेका थिए। उक्त सिजन सन्दिपले ६ खेलमा ६ विकेट लिएका थिए।

सन्दिपको टिमले अब लिग अन्तर्गत आगामी खेल आइतबार बाङ्ग्ला टाइगर्स बिरुद्ध खेल्नेछ। खेल बेलुका ७:३० बजे सुरु हुनेछ। भोलिनै पारस खड्का आबद्ध टिम आबु धाबीले नर्थर्न वारियर्ससंग खेल्दैछ। खेल बेलुका ५:१५ बजे सुरु हुनेछ।

लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पारस खड्काको टिम आबु धाबी र कलन्दर्स बीचको खेल बराबरीमा टुंगिएको थियो। आबु धाबीले पहिले ब्याटिंग गर्दै दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुमाएर १०३ रननै बनाएको थियो। खेलमा पारस खड्काले अविजित ३ रन बनाएका थिए।

समुह चरणमा टिम अबु धाबीको आगामी खेल तालिका :

नोभेम्बर १७ ( आइतबार ) – Vs नार्थन वारियर्स ( 5:15 PM )
नोभेम्बर १८ ( सोमबार )– Vs मराठा अरबीयन्स ( 7:30 PM )

समुह चरणमा कर्नाटका टस्कर्सको आगामी खेल तालिका :

नोभेम्बर – १७ ( आइतबार ) – Vs बांग्ला टाइगर्स ( 7:30 PM )
नोभेम्बर – १८ ( सोमबार ) – Vs मराठा अरबीयन्स ( 5:15 PM )

२०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित