भारतको हरियाणामा आयोजित अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स कप प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा पनि हार बेहोरेको छ।
तेश्रो स्थानको लागि भएको खेलमा भारतीय अन्डर-१९ को ‘सी’ टिमले नेपाललाई १५३ रनको विशाल अन्तरले पराजित गर्यो। प्रतियोगिता अन्तर्गत नेपालले यस अघि खेलेको तिन वटै खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा यु-१९ ‘सी’ संग १० विकेटले , भारत अन्डर-१९ ‘ए’ संग १०७ रनले तथा भारत यु-१९ ‘बि’ संग २ विकेटले नेपाल पराजित भएको थियो।
अन्तिम खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै भारत यु-१९ ‘सी’ ले दिएको २५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३२.५ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड
नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात देखि विकेट गुमाउन पुगेपछि नेपालले कुनै पनि समयराम्रो साझेदारी गर्न सकेन। ओपनर रित गौतम खाता नखोली तथा लोकेस बम ६ रन बनाएर आउट भए भने तेश्रो नम्बरका विशाल विक्रम केसी पनि खाता नखोली आउट हुँदा नेपालले २.२ ओभरमा ६ रन जोड्दा ३ विकेट गुमाएको थियो।

तृत राज दास र खडक बोहराले क्रमसः १९ र २६ रन बनाएर चौथो विकेटको लागि ४६ रनको साझेदारी गरे। उक्त साझेदारी १५ औं ओभरमा तृतको विकेटसंगै टुटेपछि नेपालले पुनः लगातार विकेट गुमायो र खेलमा पुनरागमन गर्न सकेन। हरि बहादुर चौहान २, कुशल मल्ल २६, शेर मल्ल ९, बिबेक यादब ६ तथा आकास चन्द ५ रन बनाएर आउट भए।
भारतीय टिमको बलिङ्गमा शुभांग हेग्डेले सर्वाधिक ३ विकेट लिए भने विद्याधर पाटिल, रभी रोशन सिंह र प्रदोष पौलले समान २/२ विकेट लिए।
भारतको ब्याटिंग
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको भारत यु-१९ ‘सी’ टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५८ रन बनाएको थियो।
भारतीय टिमको लागि सौरभ कुमार डगरले सर्वाधिक ५८ रन बनाए। अविजित इनिंग खेलेका उनले ६० बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै विक्रान्त सिंह भडोरियाले ५० रन ( ४९ बलमा ४ चौका र २ छक्का ) प्रहार गरे।

एक समय १३५ रनमा ५ विकेट गुमाईसकेको भारतीय टिमलाई त्यसपछि तल्लो मध्ये क्रमका ब्याट्सम्यानहरुले साझेदारी गर्दै उकासेका थिए। यस क्रममा विक्रान्त सिंहले सौरभ कुमार डगरसंगलागि ५१ रनको साझेदारी गरे। विक्रान्त आउट भएपछि सौरभले सुभांग हेग्डेसंग सातौँ विकेटको लागि अविजित ७२ रनको साझेदारी गरे। हेग्डेले अविजित ३६ रन बनाए।
नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट। लिए उनले १० ओभरमा २ मेडन ओभर गर्दै ३७ रन खर्चिए। कुशल मल्लले २ ( ९-१-४४-२ ) तथा प्रतियोगितामा पहिलो पटक मौका पाएका बिबेक यादबले १ विकेट ( ७-०-४६-१ ) लिए।