पहिलो दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमै पहिलो पटक १३ औं सागको टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता गरिएको छ ।
पहिलोदेखि १२ औं सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई दिइएको थिएन। सोमबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसंग टेलिभिजन सम्झौता सम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकार सम्बन्धी सम्झौता भएको हो ।
एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रशारण अधिकार वापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने छ । त्यसबापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने छ । त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने छ ।
एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजन मार्फत सबैको खेलका प्रत्यक्ष प्रसारण गर्नेछ । यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ । एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
आजै भएको एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच अर्को सम्झौता भयो । जसअनुसार एसएओसीले प्रशारण अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ । राखेप आफैले ल्याउने विज्ञापनमा भने कसैको अधिकारी हुने छैन । तेश्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसंग भएको थियो । उक्त एजेन्ट कम्पनीले प्रशारण र विज्ञापन वापतको कमिसन प्राप्त गर्ने छ ।
सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण सम्झौतालाई ऐतिहासिक भनेका छन् । ‘साग खेलकुद नेपालबाटै सुरु भएको हो र साग खेलकुदको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदैछ । ओलम्पिकले पनि खेलको प्रसारण अधिकार विक्रि गरेपछ फड्को मारेको हो । अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ । एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानथाप हुन्छ । अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुवात भएको छ – एनओसी अध्यक्ष श्रेष्ठले भने ।
राखेपका सदस्यसचिव रमेश सिलवालले पनि यो एक ऐतिहासिक सम्झौता भएको कुरा दोहर्याए । यो एउटा नौलो प्रयास हो । नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने पनि यस सम्झौताको उद्देश्य हो ।– सदस्यसचिव सिलवालको भनाई छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका एसएओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले प्रशारण अधिकारी र विज्ञापनबाट प्राप्त रकम नेपाली खेलकुदको विकास कार्यक्रममा उपयोग गर्ने बताए । उनले भने– ‘काउन्सिलले प्राप्त आम्दानी नेपाली खेलकुद र खेलाडी हितमा प्रयोग गरिने छ ।’
यसैगरी एनके मिडियाका सीएमडि मलिकले साग जस्तो प्रतियोगिताको प्रसारण गर्न आफ्नो कम्पनीलाई विश्वास गरेकोमा नेपाल सरकार र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई धन्यवाद दिँदै सो विश्वासमा न्याय गर्ने बताए। उनले सागको सातै राष्ट्रमा १३ औं सागको प्रत्यक्ष प्रशारण हुने बताए । सागमार्फत् आफ्नो संस्थाले नेपालको बारेमा सकारात्मक सबै कुराहरु विश्वभर फैलाउने पनि उनले बताए।
प्रशारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रशारण गर्न पाउने छैन । एनके मिडिया सीएमडि मलिकले खेल लगत्तै मिडियाका लागि भिडियाहरु उपलब्ध गराउने बताए । त्यस्तै एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए।
सामाजिक संजालमा बिरोध
भारतीय कम्पनिलाई प्रशारण अधिकारी दिईएपछि अन्य मिडियालाई भिडियो खिच्न नपाउने निर्णयको नेपाली पत्रकारहरुले सामाजिक संजालमा बिरोध गरेका छन्।
बधाइ छ राष्ट्रिय खेलकुद परिषदलाइ । दक्षिण एशीयाली खेलकुद सागको टेलिभिजन राइटस भारतीय संचारमाध्यमलाइ बेचेकोमा । त्यो पनि आठ करोड भारुमा । साग सुरुनै नभइ सफल भयो ।
— sabina karki (@sabinakarki1) November 17, 2019
१३ अौं दक्षिण एसियाली खेलकुद (साग)को प्रसारण भारतीय कम्पनी नक्षत्र न्युज एनके मिडियाले खरिद गरेको छ । नेपालकैे मिडियाले समाचार संकलन र प्रशारण गर्न पाउने नपाउने अन्याैल छ !
— ShIvA DaHaL (@dahalshivaji) November 17, 2019
नत्र आफ्नै देशमा दक्षिण एसियाली खेलकुदको महाकुम्भ हुँदा विदेशी कुनै टिभी हेरेरै बस्नुपर्ने अवस्था हो भने सार्है नमजा भयो ।
अब साग म, आफूजस्ता खेलपत्रकार र आम जनतालाई यहि तस्बिरमा भएको खाने साग बाहेक केहि नहोला जसो छ । pic.twitter.com/Dygn01Q5FD
— Subas Humagain (@SubasTheOne) November 17, 2019