विश्वकप छनोट : सुधारिएको प्रदर्शन बाबजुद नेपाल कुवेतसँग पराजित ( फोटो फिचर सहित )

काठमाडौं । विश्वकप फुटबलको छनोटमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको छ। यसअघि कुवेतमा नै खेलेको पहिलो लेगमा ७–० ले पराजित भएको नेपालले यसपटक सम्मानजनक नतिजा निकाल्न सक्यो।

भुटानको थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले २८ औँ मिनेटमा गोल खाएको हो। कुवेतका बादेर अल मुतवाले नेपाली डिफेन्सलाई छलाएर पोस्टको कर्नरमा प्रहार गरेको बल गोल भएको थियो।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले भुटानमा गरिएको हो। नेपाली भूमिमा दर्शकको साथमा खेल्न नपाए पनि अघिल्लो हारको तुलनामा नेपालको सुधारिएको प्रदर्शन भयो।

पहिलो लेगमा ७–० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो। समूह चरणमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो। ५ टोली सम्मिलित सूमहमा नेपाल चौंथो स्थानमा छ। नेपालभन्दा पछि कुनै अंक नजोडेको चाइनिज ताइपेई मात्र छ।

कुवेतसँगको खेलअघि भुटान जानुअघि नेपाली टिममा चार खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमबाट हटाएको थियो। स्ट्राइकर बिमल घर्ती मगरसहित विश्वकप छनोटमा नै चाइनिज ताइपेइलाई दुई गोल गरेका मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ साथै डिफेन्डर दिनेश राजबंशीलाई टिमबाट निकालिएको थियो।

विश्वकप छनोटमा अहिलेसम्म ५ खेल खेलेको नेपालले १ खेल मात्रै जितेको छ।

नेपालले अब चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्ने तय छ। नेपालले अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ। यस्तै आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा नै जोर्डनसँग खेल्नेछ।

फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।

नेपाल-कुवेत खेलको फोटोहरु – 

२०७६ मंसिर ३, मंगलवार मा प्रकाशित