चन्द्रागिरी गोल्डकप : आर्मीलाई हराउदै ब्रिगेड ब्वाइज सेमिफाइनलमा

विभागीय ‘ए’ डिभिजन प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बीबीसीले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा बीबीसीले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यही गोलनै बीबीसीको जितमा निर्णायक बन्यो ।

पहिलो हाफमा बीबीसीले आर्मीलाई दवावमा राखेको थियो । १५औं मिनेटमा ग्लोरीले नै पहिलो पोस्ट आक्रमण बुनेको थियो । १९औं मिनेटमा कप्तान जय गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ३०औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएन।

एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । आर्मीले दोस्रो हाफमा लगातार पोस्ट आक्रमण बुनेपनि गोलरक्षक बिशाल सुनुवार बाधक बन्यो।

५३औं मिनेटमा दिनेश हेन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा आर्मीले बराबरीको सुन्दर मौका खेर फाल्यो । ६०औं मिनेटमा दिनेशकै प्रहार गोलरक्षक बिशालले बचाइदिए । ६९औं मिनेटमा सुदिल राईले बक्स भित्र पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्मीले बराबरी गर्ने अर्काे सुन्दर मौकालाई बीबीसीका डिफेन्डर रन्दिप पौडेलले क्लियर गर्दै बराबरी टारे । दिनेश हेन्जनको हेडर रन्दिपले गोललाइनबाटै हेड गर्दै क्लियर गरिदिएका थिए ।

 

खेलमा निर्णायक गोल गरेका बीबीसीका विदेशी खेलडी उदे ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले प्रदान गरे ।

अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ ।

प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनलमा फ्रेन्डस र रुस्लान थ्री स्टार क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ः३० बजेपछि हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

२०७६ मंसिर ५, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment