टि-१० लिग : सन्दिप र पारसको टिम आमनेसामने हुँदै

युएईमा जारि टि-१० लिग अन्तर्गत शुक्रबार दुइ नेपाली खेलाडी आबद्ध टिम बीच पहिलो भेट हुन लागेको हो।

सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्स र पारस खड्का आबद्ध टिम आबु धाबी बीच लिगको दोश्रो चरणमा भेट हुन लागेको हो। शेख जायद स्टेडियममा हुने खेल नेपाली समय राति ९:४५ बजे सुरु हुनेछ।

लिगको अंकतालिकामा कर्नाटका टस्कर्स ५ खेलमा १ जित, ३ हार र १ नतिजाविहिन खेलपछि पुछारमा मात्र ३ अंक सहित रहेको छ। टिम आबु धाबीलाई पराजित गरेता पनि प्ले-अफ पुग्ने सम्भावना कर्नाटकाको समाप्त भइसकेको छ।

अर्कोतर्फ टिम आबु धाबी अंकतालिकामा ४ अंक सहित अंकतालिकामा छैठौं स्थानमा रहेको छ। ५ खेलमा आबु धाबीले १ जित, २ हार, १ बराबरी र १ नतिजाविहिन खेल खेल्यो। आबु धाबीले कर्नाटका टस्कर्सलाई पराजित गरेमा प्ले-अफ चरण पुग्ने सम्भावना रहन्छ। आजै हुने अर्को खेलमा दिल्ली बुल्सले कलन्दर्सलाई पराजित गरेमा आबु धाबी प्लेअफ्फ़ पुग्न सक्छ। यसो भए हाल चौथो स्थानमा रहेको नर्थर्न वारियर्ससंग आबु धाबीको समान ६ अंक हुनेछ र नेट रन रेटमा अघि हुने टिम चौथो स्थानमा रही प्ले-अफ पुग्नेछ।

पारसको टि-१० लिगमा प्रदर्शन 

लिग अन्तर्गत पहिलो २ खेलमा अन्तिम- ११ मा मौका पाएका पारस खड्काले त्यसपछिको ३ खेलमा बेच्नमा बस्नु पर्यो। पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका पारसले त्यसपछि नर्थर्न वारियर्ससंग १ बलमा अविजित १ रन बनाएका थिए। त्यसपछि अन्तिम-११ मा नराखिएको पारसले सन्दिपको टिम बिरुद्ध खेलेको हेर्ने चाहना पुरा हुनेछ वा छैन हेर्न खेलनै कुर्नुपर्नेछ।

पहिलो पटक विदेशी लिगमा मौका पाएका पारसले पहिलो २ खेलमा मौका पाए पनि छैठौं नम्बरमा ब्याटिंग पाएका थिए। १० ओभरको खेलमा छैठौं नम्बरमा ब्याटिंग पाउदा आफ्नो प्रदर्शन देखाउने उपयुक्त मौका पारसले पाएका छैनन्। आबु धाबी बिरुद्ध मौका पाएता पनि पारसले माथिल्लो क्रममा ब्याटिंग पाउने आशा नेपाली फ्यानले गरेका छन्।

सन्दिपको टि-१० लिगमा प्रदर्शन 

प्रतियोगितामा हालसम्म सन्दिपले खेलेको ५ खेलमा कुल ६ विकेट लिईसकेका छन्। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए।

अघिल्लो चरण पुग्न सन्दिप कर्नाटकालाई जित हारले फरक नपार्ने भएता पनि नेपाली फ्यानहरु अन्तिम खेलमा सन्दिपले विकेट लिएको हेर्न चाहनेछन्। अर्कोतर्फ पारस खड्कालाई सन्दिप लामिछानेले बलिङ्ग गरेको हेर्ने चाहना नेपाली फ्यानहरुको रहेको छ जुन बिरलै देख्न पाइन्छ।

२०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment