“नो बल” को जीवनदान पछि वार्नरको शतकमा पाकिस्तान धरासायी

अष्ट्रेलियाका ओपनर डेविड वार्नरले आफ्नो खराब फर्मलाई सुधार्दै पाकिस्तान बिरुद्द जारि पहिलो टेस्टमा शतक बनाएका छन् ।

घरेलु भुमिमा चलिरहेको खेलको दोश्रो दिन वार्नरले “नो बल” को फाइदा उठाउँदै करियरको २२ औँ टेस्ट शतक बनाएका हुन् । दक्षिण अफ्रिकासंग सन् २०१७ मा भएको खेलमा बल टेम्परिंग केसबाट उन्मुक्ति पाएपछि यो वार्नरको पहिलो टेस्ट शतक हो ।

ब्रिसबेनमा पाकिस्तान र अष्ट्रेलियाबीच जारि खेलको पहिलो दिन टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तान २४० रनमा अलआउट भएको थियो । त्यसपछि स्टम्प्स घोषणा गरिएको थियो । दोश्रो दिनको स्टम्प्ससम्म अष्ट्रेलियाले ओपनर जोए बर्न्सको क्षतिमा ३१२ रन बनाएको छ । अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले अविजित १५१ रन र मार्नस लाबुशेनले अविजित ५५ रन बनाएका छन् । बर्न्स पहिलो विकेटको लागि वार्नरसंग २२२ रनको साझेदारी गरेपछि शतक बनाउनबाट मात्र ३ रनले चुके । उनलाई लेग स्पिनर यासिर शाहले बोल्ड गरे ।

यसअघि पहिलो दिन पाकिस्तानका लागि आशाद शाफिकले ७६ रन बनाएपनि अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क, प्याट कमिन्ग्स र जोश हेजलवुडले मिलेर ९ विकेट लिएपछि पाकिस्तान ८६।२ ओभरमा समेटिएको थियो ।

वार्नरलाई “नो बल” को जीवनदान

जारि खेलमा अष्ट्रेलियाका ओपनर डेविड वार्नरले १८० बलको सामना गर्दै शतक पुरा गरेका थिए । आक्रामक ब्याट्सम्यानको छवि बनाएका वार्नरले सम्हालिएर ब्याटिंग गर्दै मात्र ७ चौका प्रहार गरेका थिए भने छक्का समावेश थिएन ।

२७ औँ ओभरको अन्तिम बलमा टेस्ट क्रिकेटमा डेब्यु गरिरहेका पाकिस्तानका तिब्र गतिका बलर नसीम शाहले क्याच आउट गराएका थिए । ५६ रनमा खेलिरहेका वार्नरलाई विकेट किपर मोहम्मद रिजवानले क्याच गरेका थिए । १६ बर्षीय शाहले आफ्नो डेब्यु विकेट प्राप्त गरेको खुसि धेरै बेर टिकेन । रिप्लेमा उनले नो बल गरेको प्रस्टै देखियो । त्यसपछि वार्नरले दोश्रो दिनको समाप्तीमा बिशाल योगफल बनाएर ब्याटिंग गरिरहेका छन् ।

२०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित